
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको बताइएको छ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि केपी शर्मा ओलीको सरकार पतन भई कार्की प्रधानमन्त्री बनेकी हुन् । नेपाली सेनाको पहलमा कार्की प्रधानमन्त्री बनेपछि प्रधानसेनापतिसँगको यो भेटलाई विशेष महत्वका साथ हेरिएको छ । यसैबीच अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र नेपालका लागि चीनका राजदुत चेङ्गले छुट्टाछुटै शिष्टाचार भेट गरेका छन् । भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारत बीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिएका छन् । नेपालमा विद्यमान परिस्थितिका कारण सिर्जना भएको विषम अवस्थामा छिमेकी मुलुक लगायत दातृ मुलुकसँगको आर्थिक साझेदारीको निरन्तरताको आवश्यकता औंल्याएका छन् । जवाफमा भारतीय राजदुत श्रीवास्तवले भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकोले दुई मुलुक बीच रहेको विशेष सम्बन्धलाई कायम राख्दै यस विषम परिस्थितिमा समेत सबै किसिमको सहयोगका लागि आफूहरु नेपालको साथमा रहेको बताएका छन् । त्यस्तै चीनका राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थतिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने रहेको बताएका छन् । सरकारले चीनसँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने बताउँदै उनले नेपाल र चीन बैंकिङ्ग क्षेत्रमा साझेदारीलाई थप प्रगाढ बढाउन, चीनको बैंकको शाखा नेपालमा स्थापना, नेपालबाट भएको निकासीको भुक्तानी सरलीकरणको पहल गरिदिन तथा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न चिनियाँ राजदुतलाई अनुरोध गरेका छन् । जवाफमा चिनियाँ राजदुतले चीनले नेपाली जनताको छनौटलाई सँधै सम्मान गर्दै आएको उल्लेख गर्दै सहयोग निरन्तर रहने बताएका छन् । साथै चिनियाँ राजदूतले चीनको सहयोगमा निर्माणाधिन परियोजनाहरु सन्तोषजनक रुपले अगाडी बढिरहेको तथा चिनियाँ लगानीकर्ता नेपालमा लगानीको लागि इच्छुक रहेको बताउँदै परिस्थिति अनुकूल भएपछि चिनियाँ लगानीकर्तासंगको छुट्टै अन्तर्क्रिया गरिने कुरा जानकारी गराएका छन् । त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने निर्णयलाई कार्यान्वयन गर्ने बताएका छन् । प्राधिकरणमा पुगेर पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक सिलवालले ऊर्जा मन्त्रालयले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने निर्णय गरिसकेकाले उक्त निर्णयलाई प्राधिकरणले कार्यान्वयन गर्ने बताएका हुन् । यसका लागि पहिला भएको निर्णयलाई अध्ययन गरी पुनरावलोकन गरिने उनको भनाइ छ । उनले आन्तरिक संरचना सुधार गर्दै प्राधिकरणलाई अघि बढाउन दीर्घकालीन योजना बनाइने, २४ सै घण्टा विद्युत आपूर्ति लगायतमा ध्यान दिने धारणा राखेका छन् । त्यस्तै कर्मचारीले गरेको स्वागत कार्यक्रममा नवनियुक्त कार्यकारी निर्देशक सिलवालले जस्तोसुकै चुनौती आएपनि त्यसलाई पार गर्दै अघि बढ्ने बताएका छन् । उनले प्राधिकरणमा लामो समय नेतृत्वमा रहेका व्यक्ति नै अहिले ऊर्जामन्त्रीमा रहेकाले काम गर्न कुनै कठिन नहुने र अहिलेको अवसरलाई प्रयोग गर्नुपर्ने उल्लेख गरेका छन् ।









