
काठमाडौँ । सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सेवा सुविधा घटाएको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि आगामी माघ ११ गते लागि निर्वाचनको मिति तोकेको उनले बताएका छन् । यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमीका लागि गृहकार्य गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्रीले श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई सोबारे अध्ययन गरी आवश्यक पहलकदमीका लागि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले सचिव पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा जानकारी लिएकी थिइन् । सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भएको र कूटनीतिक रूपमा यस विषयको सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गर्न निर्देशन दिएकी छन् । मलेसिया धेरै नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गन्तव्यमा पर्छ । नेपालमा करिब १२०० वैदेशिक रोजगारी व्यवसायीमध्ये नौ सयवटा मलेसियाकै व्यवसायमा आश्रित छन् । त्यसैगरी बाढी पहिरोले क्षतविक्षत भएको बीपी राजमार्गको पुनर्निर्माण गर्न जापान सरकारले दुई अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ । अनुदान सहायता उपलब्ध गराउने विषयमा नेपाल सरकार र जापान सरकारबीच सम्झौता भएको छ । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री ओम प्रकाश अर्यालको उपस्थितिमा जापानी अधिकारीसँग सम्झौता भएको हो । महोत्तरी जिल्लाको बर्दिबासदेखि काभ्रेपलाञ्चोक जिल्लाको धुलीखेलसम्म १५९ किलोमिटर लम्बाई भएको वि.पी. राजमार्गको निर्माण जापान सरकारको अनुदान सहयोगमा भएको हो । गत वर्षको विनाशकारी बाढी र पहिरोका कारण सो राजमार्गका विभिन्न खण्डहरू गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मत सम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता प्रदान गर्ने सम्झौता भएको हो । हस्ताक्षर समारोहमा अर्थ मन्त्री खनालले आफ्नो सम्बोधनमा जापान नेपालका लागि एक विश्वसनीय र भरोसायोग्य विकास साझेदार रहेको बताएका छन् । जापानले नेपालको आर्थिक–सामाजिक विकास र पूर्वाधार निर्माणका क्षेत्रमा निरन्तर पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।









