
काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय समिति बैठकले मुलुकलाई निकास दिन चुनाव अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय गरेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रतिनिधिसभा निर्वाचनको मितिको निर्वाचन घोषणा भइसकेको अवस्थामा मुलुकलाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले निर्वाचनमा भाग लिने निर्णय भएको बताएका छन् । प्रवक्ता महतले प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको पनि बताएका छन् । यसैबीच निर्वाचन आयोगले ८ लाख जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको बताइएको छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय सीमासम्म ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् । निर्वाचन कार्यालयमा गएर ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट ४ लाख ९२ हजार १८० नयाँ मतदाताले आवेदन दिएका हुन् । गत असोज ९ गते नयाँ मतदाता नामावली संकलन सुरु गरिएको थियो । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार संकलित मतादातामध्ये २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरुको नामावली मंसिर २० गते प्रकाशन गरिनेछ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नामावलीमा कुनै त्रुटि भएमा सो त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि संवत् २०८२ मंसिर २१ देखि २७ गतेसम्म जततउकः//बउउथिखच।भभिअतष्यल।नयख।लउ वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ । सो अवधिमा प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी संवत् २०८२ पौष १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।’ यसैबीच वर्षौदेखि चर्चामा आउँदै सेलाउँदै गरेको हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारको विषय अहिले पुनः गर्मिएको छ । संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ हेटौँडा आए लगत्तै हेटौँडाको मुख्य व्यापारिक क्षेत्र भएर जाने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ विस्तारको बहुप्रतिक्षित योजनाको विषय पुनः तातेको हो । दशकयताको विवाद, राजनीतिक स्वार्थ, स्थानीयको प्रतिरोध र अदालती प्रक्रियामा अल्झिँदै आएको विषय यसपटक भने निर्णायक चरणतर्फ उन्मुख देखिएको छ । मन्त्री घिसिङ हेटौँडा आएपछि भएको छलफलले लामो समयदेखि रोकिएको सडक विस्तार प्रक्रियामा नयाँ मोड आएको ठानिएको छ । मन्त्री घिसिङसँगै मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतले हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामासहित वडा अध्यक्ष र केही स्थानीयहरुसंग पनि मन्त्री घिसिङले छलफल गरेका थिए । हेटौँडामा छलफल गरेका मन्त्री घिसिङकै निर्देशन र बजेट अभाव नहुने प्रतिबद्धता पछि डिभिजन सडक कार्यालय सूचना निकाल्न तयार भएको थियो । सडक सिमा खाली गर्ने सूचना कुनै आकस्मिक निर्णय भने नभएको कार्यालयका सूचना अधिकारी यादव सुवेदीले बताएका छन् । उनका अनुसार सडक विस्तारको बिषय पुरानै भएपनि विभागीय मन्त्रीको स्पष्ट निर्देशन पछि उक्त निर्णयमा कार्यालय अघि बढेको बताइएको छ । मन्त्रीसँगको छलफलपछि नै यो प्रक्रिया अघि बढेको र बजेट आउनेमा विश्वस्त रहेको उनले बताएका छन् ।









