
काठमाडौँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली संघ (एनआरएनए)लाई राजनीतिक दलको नबनाउन आग्रह गरेका छन् । काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले एनआरएनएका नेताहरु पार्टीको बन्दा समस्या भएको बताएका छन् । उनले एनआरएनएका अभियन्ताहरु राजनीतिक दलमा आवद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताएका छन् । स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उनको भनाइ थियो । उनले एनआरएनएलाई राजनीतिक दल र राजनीतिमुक्त बनाउने अवसर यही भएको पनि बताएका छन् । मन्त्री खरेलले गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था र गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएको समस्याका बारेमा सरकार गम्भिर रहेको पनि बताएका छन् । यसैबीच जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयसीमाभित्र तयार गर्न निर्देशन दिएका छन् । सो अस्पताल निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माणाधीन अवस्थामा रहेका दुई वटा भवन निर्धारित समयमै तयार गरी हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् । बिरामीको चापलाई दृष्टिगत गरी निर्माण प्रक्रिया सुरु भएको सो अस्पतालको नयाँ भवन बनाउने काम ढिलो भएको भन्ने प्राप्त गुनासोलाई सम्बोधन गर्नेक्रममा उनले अस्पताल प्रशासन र निर्माण व्यवसायीलाई काम छिटो सक्न निर्देशन दिएका छन् । सो अस्पतालाका लागि निर्माणाधीन अवस्थामा रहेको दुई अर्ब ४५ करोड लागतको ११ तले भवनको ३५ प्रतिशत र ३८ करोड लागतको चार तले भवनको ६० प्रतिशत मात्र काम सम्पन्न भएको सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले जनाएको छ । निर्माण व्यवसायी केसी एवं रमण कन्स्ट्रक्सनले करिब चार वर्षअघि निर्माण सुरु गरेको उक्त भवन काम सम्पन्न गरी यसैवर्ष हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सो अवसरमा कोशी अस्पतालका प्रमुख डा. रुणा झा र सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका डिभिजनल इञ्जिनियर सुरेन्द्र साहले मन्त्री घिसिङलाई अस्पतालको वस्तुस्थिति र भवन निर्माणसम्बन्धी जानकारी गराएका थिए । त्यस्तै प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताएकी छन् । सामाजिक सञ्जालमार्फत लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा प्रधानमन्त्री कार्कीले, “कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन” भनेकी छन् । प्रधानमन्त्री कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको स्पष्ट गर्दै विद्यमान विषम परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने अभियानमा साथ दिन सम्पूर्ण देशवासीसँग अनुरोध पनि गरेकी छन् ।









