
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छन् । अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलसमेतको उपस्थितिमा प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायहरुबाट ब्रिफिङ लिएकी हुन् । ती निकायका प्रमुखहरुले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा अभियोगको प्रक्रियामा लैजाने, अपराधबाट आर्जित सम्पत्ति रोक्का र जफत गर्ने विषयमा भएको प्रगतिबारे जानकारी गराइन् । त्यस क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं उपत्यकाभित्र मात्र १ हजार ६ सय रोपनी जग्गा रोक्का राखेको जानकारी गराएको थियो । यसैबीच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ २४ गतेको विध्वंसमा जेनजीहरुको हात नरहेको जिकिर गरेका छन् । विराटनगरमा आयोजना गरिएको कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोली– चुनौती, अवसर र सम्भावनाबारे युवासँग संवादमा बोल्दै उनले भदौ २३ गते गरिएको जेनजी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताएका छन् । तर भदौ २४ गते गरिएको विरोध, विद्रोह भन्दा पनि विध्वंस भएको बताउँदै नेता कोइरालाले त्यसमा जेनजी युवाहरूको हात नरहेको बताएका छन् । उनले भदौ २३ गतेको घटनाका दोषीलाई मात्र नभई भदौ २४ गतेका घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । नेता कोइरालाले शिक्षामा भइरहेको राजनीतिकरणका कारण शिक्षाको गुणस्तर खस्किएको धारणा व्यक्त गरेका छन् । उनले शिक्षाबाट राजनीतिलाई हटाउनै पर्ने जिकिर गर्दै अंग्रेजी र नेपाली माध्यमका नाममा भइरहेको पढाइले दुई प्रकारका नागरिक उत्पादन भइरहेको बताएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाको बहानामा चलखेल भइरहेको भन्दै त्यसतर्फ ध्यान नदिन आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पुगेका उनले यस्तो बताएका हुन् । लामिछानेले सिंहदरबार केवल बनाउने होइन, बदल्नुपर्ने अवस्था आएको उल्लेख गर्दै जेन–जीको योगदानलाई परिवर्तनमा रूपान्तरण गर्नुपर्ने धारणा राखेका छन् ।









