
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते सरकारले चुनाव गराएरै छाड्ने बताएका छन् । उनले वर्तमान सरकारको मुख्य म्यान्डेट नै आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा निर्वाचन रहेको स्पष्ट पारेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान अन्तरिम सरकार संविधानको संरक्षण र राष्ट्रिय सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ अघि बढिरहेको बताएका छन् । उनले जेनजी आन्दोलनपछि बनेको सरकार नेपालको संविधान जोगाउने मुख्य उद्देश्यसहित निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न प्रतिवद्ध रहेकोमा जोड दिएका छन् । उनले राष्ट्रिय सुरक्षाको अवस्था समेत खतरामा परेको अवस्थामा सरकारले मूल रणनीतिका रूपमा द्वन्द्व दोहोरिन नदिने नीति लिएको बताएका छन् । त्यसका लागि निर्वाचन एकमात्र विकल्प भएको उनको भनाइ छ । गृहमन्त्री अर्यालले पछिल्लो समय राजनीतिक दलहरूले जेनजी पुस्तालाई आफ्नो राजनीतिमा समेट्न थालेकोमा खुसी व्यक्त गर्दै जेनजी पुस्तालाई मूलधारमा ल्याउने मान्यता सरकारको रहेको बताएका छन् । यसैबीच निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा १२ बमोजिम खारेज गरेको हो । आयोगका अनुसार आम आदमी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक), नेपाल राष्ट्रवादी पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) र माओवादी जनमुक्ति पार्टी खारेज भएका छन् । त्यसैगरी नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगमा बयानका लागि बोलाइएको विषयमा छलफल भएको छ । सानेपामा बसेको बैठकमा गत भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठन गरिएको आयोगले लेखकलाई बयानमा उपस्थित हुन पत्र पठाएको विषयमा चर्चा गरिएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा सहभागी अधिकांश नेताहरूले लेखकले आयोगमा गएर बयान दिनु उचित हुने सुझाव दिएका छन् । आयोगले औपचारिक रूपमा बयानका लागि पत्र पठाइसकेको र लेखक स्वयं पनि बयान दिन सकारात्मक रहेको बताइएको छ ।









