
काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाता संकलन सुरु गर्ने भएको छ । आयोगले एक सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ३० तथा अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ बमोजिम आयोगबाट अस्थायी मतदाता नामावली संकलन कार्यक्रम स्वीकृत गरेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अस्थायी मतदाताको विवरण पुस १९ गतेदेखि माघ १८ गतेसम्म सम्बन्धित निकायका कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारी प्रदेश वा जिल्ला निर्वाचन अधिकारीको कार्यालयमा पठाउनुपर्ने जानकारी दिएका छन् । संकलित नामावली प्रकाशन र दाबी विरोध तथा जाँचबुझ गरी अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको उनले बताएका छन् । विज्ञप्तिका अनुसार आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, कारागारमा रहेका थुनुवा र कैदी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेका वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्चालनमा रहेका वृद्धा अवस्थामा बसेका व्यक्तिहरू एवं संवैधानिक निकायका पदाधिकारीको नामावली संकलन गरिनेछ आयोगले जनाएको छ । यसैबीच ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशका वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् । पोखरामा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै घिसिङले यस्तो बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन साहबिच ७ बुँदे सहमति भई एकताको प्रक्रिया अघि बढेको सन्दर्भमा घिसिङले पनि एकताको अपरिहार्यता औंल्याएका हुन् । यद्यपि, उनले एकता वा सहकार्य गर्दा सम्मानजनक अवस्था हुनुपर्ने सर्त राखेका छन् । उनले मूलधारका शक्तिहरू बिच पनि एकता वा सहकार्य गरेर जानुपर्ने धारणा राखेका छन् । रवि र बालेनबिचको सहमतिमा आफू नसमेटिएको चर्चाबिच घिसिङले आफ्नो पार्टीको स्वाभिमान र अस्तित्वको सवाल उठाएका छन् । उनले सहकार्य गरेरै अगाडि बढ्ने नीति रहेको र यस विषयमा विभिन्न पक्षसँग कुराकानी भइरहेको जानकारी दिएका छन् । त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चरम राजनीतिक प्रभावका कारण नेपाल पत्रकार महासंघको इतिहास मोडिएको बताउँदै सत्य–तथ्यमा आधारित दस्तावेज प्रस्तुत गर्न आग्रह गरेका छन् । नेपाली पत्रकारहरुलाई पहिलो पटक संगठित गरी त्यसको अगुवाई समेत गरेका स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठको १ सय १० औं जन्मजयन्तीको अवसरमा ललितपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । नेवाः पत्रकार राष्ट्रिय दबूले आयोजना गरेका सो समारोहमा मन्त्री खरेलले वास्तविक प्रमाण उपलब्ध गराएमा सत्यनारायण बहादुर श्रेष्ठलाई राज्य उचित सम्मानसहित स्थापित गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सत्य र तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने पत्रकारकै इतिहास मेटिनु गलत भएको पनि मन्त्री खरेलको भनाई रहेको छ । सोही अवसरमा सत्यनारायणबहादुर श्रेष्ठकी छोरी सुजिता मानन्धरले आफ्ना बुवाले पत्रकारिता र शिक्षा क्षेत्रमा गर्नुभएको योगदानको विषयमा चर्चा गरेका थिए ।









