
काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापति लगायत महत्वपूर्ण साथीहरूसँग अन्तरक्रिया गरी राय लिनुभएको छ । बिशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यलयमा भएको छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास के हुन सक्छ ? राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्दलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा पनि छलफल भएको बताइएको छ । त्यसैगरी हिजो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाउनुभएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ ? आगामी आम निर्वाचनमा एकताबद्ध रूपमा कसरी अगाडि बढ्न सकिन्छ ? भन्ने विषयहरुमा पार्टीभित्र देखिएको दुवै पक्षलाई एक सूत्रमा ल्याउने उपायहरुका बारेमा समेत उक्त बैठकमा बिस्तृत छलफल भएको छ । हालै पार्टीको अनुशासन समितिले गरेका कारवाहीको फुकुवाका सम्बन्धमा जो जो व्यक्तिहरू जुन जुन पदमा थिए उनीहरू तत् तत् पदमा कायम रहनुपर्नेमा समेत सहभागीहरुले जोडदार माग उठाएका थिए । यसैबीच निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि पर्यवेक्षण अनुमति पाउने संस्थाहरूको टुंगो लगाएको छ । आयोगका अनुसार अनुमति पाउनेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी जम्मा ४० वटा संस्था रहेका छन् । निर्वाचनमा तेस्रो पक्षबाट गरिने विधि र प्रक्रियाको अवलोकनको कारण निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न भएको सुनिश्चितता गर्ने आयोगको विश्वास छ । यही मान्यताको साथमा आयोगले फागुन २१ गते हुने प्रतिनिधि निर्वाचनका लागि पर्यवेक्षण अनुमति प्रदान गर्ने संस्थाबारे निर्णय गरेको हो । अनुमति प्राप्त संस्थामध्ये ३६ वटा राष्ट्रिय र चार वटा अन्तर्राष्ट्रिय संस्था रहेका छन् । आयोगले कूटनीतिक नियोग तथा अन्य देशका निर्वाचन आयोगहरूलाई भने स्वयं आमन्त्रण गर्ने प्रक्रिया अघि बढाइरहेको जानकारी दिएको छ । साथै अनुमति प्राप्त राष्ट्रिय पर्यवेक्षक संस्थाहरूलाई क्रमशः अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, पर्यवेक्षकको विवरण निर्वाचन पर्यवेक्षण प्रणालीमा प्रविष्टि तथा जाँचबुझ गर्ने र परिचयपत्र प्रदान गर्ने कार्य अघि बढाइने आयोगले जनाएको छ । त्यसैगरी कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बदर मतको संख्या घटाउन राजनीतिक दल र निर्वाचन आयोग दुवैको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले मतदान प्रक्रियाबारे मतदातालाई प्रभावकारी रूपमा जानकारी गराउन मतदाता शिक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । आयुक्त भण्डारीले बदर मत घटाउन आयोग गम्भीर तयारीमा जुटेको बताएका छन् । उनले विगतका निर्वाचनमा कुन दलको कति मत बदर भयो भन्ने विषयको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै हरेक राजनीतिक दलका प्रतिनिधि सचेत भएर मतदातालाई मतदान प्रक्रियाबारे जानकारी गराउनुपर्ने बताएका छन् । मतदाता शिक्षा सञ्चालन गर्नु राजनीतिक दल र निर्वाचन आयोग दुवैको साझा दायित्व भएको उनको भनाइ छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताको नामावली सार्वजनिक गरिसकेको छ । आसन्न निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् ।









