
काठमाडौं । आधिकारिकताको दाबी गर्दै नेपाली कांग्रेसको दुवै पक्षले निर्वाचन आयोगलाई पत्राचार गरेको छ । संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भएको भनेर पत्र लेखेको छ भने विशेष महाधिवेशन पक्षधरले बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएकाले आफूहरू आधिकारिक भएको दाबी गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवै पक्षको पत्र आएको र त्यसमा अध्ययन भइरहेको बताएका छन् । कांग्रेसको कार्यसमिति बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासनको निर्णय गरेको थियो । विशेष महाधिवेशन पक्षधरले भने केन्द्रीय कार्यसमिति पहिले नै भंग भइसकेकाले सो बैठकको निर्णयको कुनै औचित्य नहुने दाबी गरेको छ । यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेको कारबाहीका बाबजुद आफूहरू कांग्रेस र देश परिवर्तन गर्ने अभियानमा दृढतापूर्वक अघि बढिरहेको बताएका छन् । नेपाली कांग्रेसले उनलाई तथा अर्का महामन्त्री गगन थापालाई कारबाही गर्ने निर्णय सार्वजनिक गरेलगत्तै शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गरेका हुन् । शर्माले सहमतिका लागि नेतृत्वसमक्ष प्रस्तुत गरिएको आठबुँदे प्रस्तावसमेत सार्वजनिक गर्दै ती बुँदामध्ये कुन कांग्रेस वा देशको हितविपरीत थियो भनेर प्रश्न उठाएका छन् । पार्टी सुधार र नेतृत्व रूपान्तरणका लागि सुरु गरिएको पहललाई कारबाहीले रोक्न नसक्ने सन्देश उनको प्रतिक्रियामा स्पष्ट देखिएको छ । त्यसैगरी नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसभित्रको विभाजनप्रति टिप्पणी गर्दै गगन थापा र विश्वप्रकाश शर्माले ऐतिहासिक पार्टीलाई खरानी बनाउने बाटो रोजेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सचिव बस्नेतले देश राजनीतिक अस्थिरता र अनिश्चितताको चरणमा रहेको बेला कांग्रेसभित्र देखिएको विभाजन अत्यन्तै दुःखद र चिन्ताजनक भएको बताएका हुन् । उनले लोकतन्त्रको मर्म जोगाउन एकजुट हुनुपर्ने समयमा कांग्रेस विभाजित हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् । बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व क्षमताको प्रशंसा गर्दै कांग्रेसमा बलियो अभिभावकत्वको अभाव खड्किएको औंल्याएका छन् । लोकतन्त्र धरापमा परेको र विदेशी चलखेल बढेको अवस्थामा गगन थापा र विश्वप्रकाश शर्माको भूमिकाले स्थितिलाई सच्याउँछ कि अझै जटिल बनाउँछ भन्ने विषयमा इतिहासले समीक्षा गर्ने बस्नेतको भनाइ छ ।









