
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय परिचालन समिति तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले निर्वाचनका लागि केन्द्रीय तहका सबै पदाधिकारी र सदस्यहरूलाई जिल्ला–क्षेत्रस्तरमा खटाउने तयारी गरिएको जानकारी दिएका छन् । उनले जनताबाट अनुमोदन प्राप्त गर्ने राजनीतिक संस्था कहिल्यै पुरानो नहुने स्पष्ट पार्दै व्यक्तिहरू मात्र समयसँगै पुराना हुने बताएका छन् । लोकतान्त्रिक अभ्यासमा नागरिकको मत निर्णायक हुने उल्लेख गर्दै उनले आगामी निर्वाचनले देशको भावी दिशा तय गर्ने धारणा राखेका छन् । प्रवक्ता चालिसेले निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने जानकारी दिएका छन् । घोषणापत्रले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई केन्द्रमा राख्ने उनको भनाइ छ । हालः घोषणापत्र निर्माणका क्रममा पार्टीले देशभरका जिल्ला–जिल्लाबाट सुझाव संकलन गरिरहेको जानकारी दिँदै चालिसेले स्थानीय तह, क्षेत्र र जिल्लाबाट आएका सुझावलाई एकीकृत गरी राष्ट्रिय आवश्यकतासँग जोडिने उल्लेख गरेका छन् । पार्टीले स्थिरता, उत्तरदायित्व र समावेशी विकासको स्पष्ट खाका घोषणापत्रमार्फत सार्वजनिक गर्ने तयारी गरेको उनको भनाइ छ । प्रवक्ता चालिसेले कांग्रेस नै देशको भविष्य हो भन्ने विश्वासका साथ पार्टी चुनावी मैदानमा उत्रिएकाले नागरिकले दिने मतले देशको भविष्य निर्धारण गर्ने बताएका छन् । यसैबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी निर्वाचनमा राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा निजी क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । अध्यक्ष ढकालले निजी क्षेत्रविना मुलुकको आर्थिक स्थायित्व, सुशासन र दीर्घकालीन समृद्धि असम्भव हुने बताएका छन् । उनले निजी क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी सिर्जना गर्दै आएको उल्लेख गर्दै, यसलाई उपेक्षा गर्दा आर्थिक पुनरुत्थान चुनौतीपूर्ण हुने बताएका छन् । ढकालले निजी क्षेत्रलाई रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता र सम्पत्ति निर्माणकर्ताको रूपमा सम्मान गर्दै मनोबल उच्च राख्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी पूर्व मन्त्री महावीर पुनले चुनाव जित्नका लागि मात्रै आफू कुनै वाचा नगर्ने भन्दै म्याग्दीमा गाउँ गाउँ पुगेर भोट मागिरहेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लगायतका दलको समर्थन पनि छ । अहिले उनी म्याग्दीका गाउँ गाउँ पुगेर भोट मागेका भिडिओ र तस्बिरहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनेका छन् । जसमा उनी आफ्नै चिरपरिचित शैलीमै उत्रिएर भोट मागिरहेका छन् । जसमा आफू चुनाव जित्न कुनै वाचा नगर्ने पनि भनिरहेका छन् । आफूले अहिलेसम्म आफ्नो फाइदाका लागि काम नगरेको पनि उनले दाबी गरेका छन् । आफू चुनावमा उठेको कुरा जानकारी गराउन मात्रै गाउँ गाउँ पुगिरहेको उनले बताएका छन् । गाउँको समस्या अहिले लेखेर राख्ने र पछि सांसद भएपछि पूरा गर्ने उनले बताएका छन् ।









