
काठमाडौं । निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत दुई करोड तीन लाख २३ हजार मतपत्र आवश्यक हुनेमा ७२ हजार ६० हजार छपाइ सकिएको हो । २५ जिल्लाको छपाइ र प्याकिङ सकिएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएकी छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा अवलोकन निरीक्षण गरी मतपत्र छपाइबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री ओमप्रकाश अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित निर्वाचन आयोगका पदाधिकारी पनि निरीक्षणमा सहभागी भएका थिए । यसैबीच नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नगर्ने प्रस्ट पारेको छ । पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाइसकेको जानकारी दिएका छन् । प्रवक्ता चालिसेले चुनावपूर्व कुनै प्रकारको गठबन्धन नहुने दोहोर्याउँदै पार्टी एक्लै चुनावी मैदानमा उत्रिएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले अधिनायकवाद सधैं मिठा र चिप्ला कुरा गरेर आउने गरेको टिप्पणी गर्दै नयाँ अनुहार र नयाँ नारा भन्दै फैलाइने भ्रममा नपर्न कार्यकर्तासहित आम मतदातालाई सचेत गराएका छन् । कांग्रेसले आफ्नो संगठनात्मक शक्ति, लोकतान्त्रिक मूल्य र विगतको योगदानका आधारमा जनतासँग प्रत्यक्ष अपिल गर्दै चुनावमा होमिएको उनले बताएका छन् । त्यस्तै नेपाली कांग्रेसले पार्टीभित्र देखिएको विवाद अब अन्त्य भइसकेको बताएको छ । प्रवक्ता चालिसेले पार्टी एकताबद्ध भएर आगामी चुनावमा सक्रिय भइसकेको जानकारी दिएका छन् । चालिसेले नयाँ नेतृत्व आएपछि अन्य पार्टीबाट प्रवेश गर्ने तथा निष्क्रिय रहेका सदस्यहरू पनि पार्टीमा फर्किन थालेको उल्लेख गरेका छन् । उनले निर्वाचन आयोगलाई जानकारी गराउँदै भने कि अन्य दलहरूले चुनावी गतिविधिमा बालबालिका प्रयोग गरेको सूचनासमेत पार्टीलाई प्राप्त भएको छ । साथै, प्रवक्ताले विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य माध्यममा अमर्यादित टिप्पणी र धृणास्पद अभिव्यक्ति दिनुले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिग्रने भएकाले कांग्रेस त्यसबारे सचेत रहेको बताएका छन् ।









