
काठमाडौं । गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारी सहभागी थिए । बैठकमा मुलुकको समसामयिक विषय, समग्र शान्ति–सुरक्षा अवस्था तथा आसन्न निर्वाचनलाई लक्षित सुरक्षा तयारीबारे छलफल भएको मन्त्रालयले जनाएको छ । विशेषगरी मधेश–तराई क्षेत्रमा देखिएका जातीय, धार्मिक तथा निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतीबारे गहन समीक्षा गरिएको थियो । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न अपनाउनुपर्ने रणनीति, सुरक्षा निकायबीच समन्वय सुदृढ गर्ने उपाय तथा आगामी सुरक्षा योजनालाई प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको बताइएको छ । छलफलबाट प्राप्त निष्कर्षका आधारमा सुरक्षा योजना थप सुदृढ बनाउँदै आवश्यक निर्णय लिइने गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर वा भौतिक कारबाहीको धम्की दिएर नबढ्ने टिप्पणी गरेका छन् । सर्लाहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले विकास र सुशासनका लागि चाबुक नभई विधिको शासन र पद्धति आवश्यक पर्ने बताएका छन् । केही दिनअघि सुदूरपश्चिमको धनगढीमा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले दिएको अभिव्यक्ति प्रति असहमति जनाउँदै सभापति थापाले सो प्रतिक्रिया दिएका हुन् । राजनीतिमा पछिल्लो समय मौलाउँदै गएको पपुलिष्ट शैलीप्रति कटाक्ष गर्दै थापाले थपे, ‘अहिले बजारमा सबैलाई फटाहा भन्ने र आफ्नो हातमा मात्रै चाबुक छ भन्दै तर्साउने भाषा सुनिन्छ । ठेकेदार फटाहा, उसको पक्षमा बहस गर्ने वकिल फटाहा, फैसला गर्ने न्यायाधीश फटाहा र कानुन बनाउने सांसद पनि फटाहा भन्ने यो चिन्तनले सुधार होइन, दुर्घटना निम्त्याउँछ ।’ सभापति थापाले विकास र सुधारको ग्यारेन्टी लोकतन्त्र र विधिको शासनको मूल्यमा हुन नसक्ने स्पष्ट पारेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश चुनावमा होमिसकेकाले त्यसलाई आफ्नो पार्टीले अवसरका रुपमा उपयोग गर्ने बताएका छन् । चुनावी प्रचारप्रसारका क्रममा नवलपरासी पुगेका अध्यक्ष लिङ्देनले जिल्लाको क्षेत्र नम्बर २ मा गरेको ‘रोड शो’ कार्यक्रम अन्तर्गत भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । २०८४ मा हुने निर्वाचन अहिले गरिनु भनेको मुलुकलाई जटिलतातर्फ धकेल्ने काम भएको उनको भनाई थियो । उनले कहिले प्रजातन्त्र कहिले लोकतन्त्र र कहिले गणतन्त्रका नाममा दुई दशकदेखि चलाइएको व्यवस्थाले भ्रष्टाचार र लुटतन्त्र निम्ताएकै कारण जेनजी आन्दोलन भएको बताएका छन् । अहिलेको चुनावले युवा पुस्ताको परिवर्तनको चाहनालाई पूरा नगर्ने उनको जिकिर थियो । जेनजीको परिवर्तनको चाहनालाई पूरा गर्न संविधान परिवर्तन आवश्यक रहेको उनको भनाई छ ।









