
काठमाडौं । बिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीलाई सदनमा उपस्थितिका लागि रुलिङको माग गर्दै प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेका छन् । प्रतिनिधिसभाको दोश्रो बैठकमा विरोधकाबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कारबाही अघि बढाएपछि बिपक्षी दलका सांसदहरुले वेल घेराउ गरेका हुन् । उनीहरुले वेल घेराउ गर्दै निरंकुश सरकार मुर्दावाद, गैरलोकतान्त्रिक प्रवृत्ति मुर्दावाद, संसदीय मर्यादा कायम गर, विपक्षीको माग सम्बोधन गर, संविधानभन्दा माथिको प्रधानमन्त्री चाहिँदैन लगायतका नारा लगाएका थिए । बिपक्षीको विरोधका बाबजुद प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३, मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ भने वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित भएको छ । यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गर्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधि सभाको बैठकमा नाराबाजी गरेका छन् । विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन अघि बढाएका थिए भने विपक्षी सांसदहरूले संसद्को बेल घेराउ गरेका थिए । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा गृह, विज्ञान, प्रविधि एवं नवप्रवर्तनमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए । त्यसपछि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाह स्वयं संसदमा उपस्थित हुनुपर्ने माग गर्दै विरोध जनाएका हुन् । उनीहरूले बैठकभर नाराबाजी जारी राखेका थिए । विपक्षी दलको अवरोधकै बीच कानुनमन्त्री गौतमले प्रधानमन्त्रीका तर्फबाट विभिन्न विधेयक संसदमा पेश गरेकी छन् । त्यसैगरी संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका प्रतिनिधिसँग छलफल सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्रसम्बन्धी सुझाव सङ्कलनका लागि राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिरहेको हो ।









