
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रिय सार्वभौमिकता, आर्थिक समृद्धि, नागरिक हित र अन्तर्राष्ट्रिय सम्मानलाई केन्द्रमा राख्दै स्वतन्त्र, सन्तुलित र राष्ट्रिय हितमुखी परराष्ट्र नीति अवलम्बन गर्ने प्रतिबद्धता जनाएको छ । पार्टीले भारत र चीनसँग सन्तुलित, स्थिर र व्यावहारिक सम्बन्ध कायम राख्दै सीमा विवादलगायतका विषय तथ्य, प्रमाण र संस्थागत संवादमार्फत समाधान गर्ने नीति अघि सारेको छ । सभापति रवि लामिछानेले परराष्ट्र नीतिसम्बन्धी अवधारणापत्र सार्वजनिक गर्दै नेपालको संविधानले परिभाषित गरेका राष्ट्रिय हित, स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान, सीमाको सुरक्षा तथा नागरिकको हकहितलाई परराष्ट्र नीतिको आधार बनाइने जनाएका हुन् । पार्टीले संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त, असंलग्न आन्दोलनको भावना, अन्तर्राष्ट्रिय कानुन तथा विश्वशान्तिका मान्यताप्रति प्रतिबद्ध रहने उल्लेख गरेको छ । साथै, बदलिँदो विश्व व्यवस्थाअनुसार परराष्ट्र नीतिलाई केवल कूटनीतिक सम्बन्ध व्यवस्थापनमा सीमित नराखी राष्ट्रिय विकास, आर्थिक रूपान्तरण, लगानी आकर्षण, व्यापार विस्तार, प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय साझेदारीको माध्यमका रूपमा उपयोग गरिने जनाएको छ । यसैबीच नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका राजनीतिक निर्णय, सत्ता केन्द्रित प्रवृत्ति र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढेको स्वीकार्दै अब कांग्रेस जनमुखी राजनीतिमा फर्कनुपर्ने बताएका छन् । झापाको विर्तामोडमा आयोजित कांग्रेसको जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उनले अब सरकार बनाउने अङ्क गणितभन्दा जनताको मन जित्ने राजनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । सभापति थापाले स्पष्ट राजनीतिक आधारविना अन्य दलसँग गठबन्धन गर्ने, पुनः त्यही गठबन्धन तोड्ने प्रवृत्ति, सीमित नेताहरूको प्रधानमन्त्री बन्ने आकांक्षा तथा सत्ता भागबण्डाको राजनीतिले कांग्रेसको छवि कमजोर बनाएको बताएका छन् । त्यसको परिणाम स्वरूप निर्वाचनमा पराजित उम्मेदवारप्रति मात्र नभई कांग्रेसप्रति नै जनताले असन्तुष्टि व्यक्त गरेको उनको भनाइ थियो । अहिलेको सबैभन्दा ठूलो चुनौती जनताको गुमेको भरोसा पुनः स्थापित गर्नु रहेको उल्लेख गर्दै सभापति थापाले देशका समस्या बुझेर समाधान गर्न सक्ने क्षमता अझै पनि कांग्रेससँग रहेको दाबी गरेका छन् । त्यसैगरी नेकपा एमाले संसदीय दलको बैठकले उपाध्यक्ष विष्णु पौडेलको पक्राउ कानुनी राज्यको खिलाफमा भएको निष्कर्ष निकाल्दै संसदमा संघर्ष गर्ने निर्णय गरेको छ । संसदीय दलको बैठकले सरकारको तानाशाही र अधिनायकवादी चरित्रविरुद्ध संसदमा संघर्ष गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिएका छन् । सरकार तानाशाही, अधिनायकवादी बाटोमा हिँडेकाले बैठकले सदनमा दृढतापूर्वक कानुनी शासन र लोकतन्त्रको आधारभूत मूल्य मान्यताका पक्षमा दृढतापूर्वक उभिएर सदनमा संघर्ष गर्ने निर्णय गरेको बताएका छन् ।









