
काठमाडौं । नेकपा (एमाले)का नेता ठाकुर गैरेले एमबीबीएस प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणमा नैतिक जिम्मेवारी स्वीकार गर्दै शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । उनले कार्यदल गठन गरेर घटनालाई ढाकछोप गर्न खोजिएको आरोपसमेत लगाएका छन् । ‘पार्टी रूपान्तरणमा पूर्वअखिलको भूमिका’ विषयक कार्यक्रममा बोल्दै गैरेले भारतमा शिक्षा क्षेत्रसँग सम्बन्धित आन्दोलनपछि शिक्षामन्त्रीले राजीनामा दिएको उदाहरण प्रस्तुत गर्दै नेपालमा भने प्रश्नपत्र चुहावटजस्तो गम्भीर घटनापछि पनि सरकारले जिम्मेवारीबाट उम्किन खोजेको टिप्पणी गरेका छन् । गैरेले सरकारको समग्र कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल–भारत सीमा सम्बन्धी विषयमा सरकारले स्पष्ट धारणा राख्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भूमि मिचेको विषय उठाएको दाबी गरेका छन् । त्यसबारे सरकारले अहिलेसम्म स्पष्ट जवाफ नदिएको उनको भनाइ थियो । यसैबीच शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबिएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गरिने बताएका छन् । मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले घटनामा संलग्न दुईजनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेको जानकारी दिएका छन् । उनका अनुसार प्रश्नपत्र सार्वजनिक भएको सूचना प्राप्त हुनासाथ गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी तत्काल निगरानी बढाइएको थियो । मन्त्री पोखरेलले विगतमा पनि यस्ता घटना दोहोरिने गरेको उल्लेख गर्दै यसपटक तत्काल कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् । त्यसैगरी माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा डुवानको मुख्य समस्या आसपास क्षेत्रको पूर्वाधार निर्माण गर्दाको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको प्रतिवेदन पेश भएको छ । झरी परेपछि सो क्षेत्र डुबानमा पर्न थालेपछि साउन ५ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल नेतृत्वमा विकास साझेदार, सुविधा वितरण तथा सेवा व्यवस्थापनका क्षेत्रमा काम गर्ने निकायका प्रमुख र प्रतिनिधिसहित अनुगमन भएको थियो । अनुगमनपछि कार्यवाहक प्रमुख डंगोलले, सम्बन्धित कार्यालयका अधिकारीहरुको संयुक्त टोलीलाई प्राविधिक प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको थियो । कार्यवाहक प्रमुखको निर्देशनपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर के. सी. को संयोजकत्वमा गठित समितिले स्थलगत प्रतिवेदन तयार पारेको हो । टोलीको सदस्यहरुमा टोलीले काठमाडौँ महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्वल श्रेष्ठ सदस्य हुनुहुन्थ्यो । प्रतिवेदन अनुसार माइतीघर मण्डला क्षेत्रको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि देखिएको छ ।









