
काठमाडौं । प्रहरी हौं भनि डर त्रास, धाक धम्की दिई रकम असुल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन् । चन्द्रागिरी नगरपालिका–७ थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा साँझ अपरिचित मानिसहरू प्रवेश गरी हामी मेडिकलहरू अनुगमन गर्न हिँडेका सादा पोसाकमा खटिएका प्रहरी हौं भनि डर त्रास, धाक धम्की दिई औषधी पसलको काउन्टरबाट नगद समेत लिई भागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर आपराधिक लाभ एक्सटर्सन (ठगी) सम्बन्धी कसुरमा जिल्ला अदाल काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यसैबीच जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाँउपालिका–७ बस्ने २६ वर्षीय आर्यन पुरीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कारागार कार्यालय नख्खु ललितपुरमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काभ्रे मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेशीबाट पक्राउ गरेको हो ।









