
काठमाडौं । सरकारले निजामती सेवा विधेयक पारित गरेको छ । मन्त्रिपरिषद्को बैठकले विधेयक पास गर्दै संसदमा पेस गर्न स्वीकृति दिएको हो । बहुप्रतिक्षीत विधेयकमा कर्मचारीलाई ५५ वर्ष उमेर तथा ३० वर्ष सेवाहदमा अनिवार्य अवकाश दिइने प्रावधान छ । त्यस्तै, बैठकले पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । यसैबीच सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरिएको नभई सुरक्षा प्रदान गर्न उद्धार गरिएर सुरक्षित ठाउँमा लगिएको स्पष्टिकरण दिएको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो प्रष्टिकरण दिएका हुन् । पूर्वप्रधानन्यायाधीश जबराको परिवारले थप सुरक्षाको माग गर्दै प्रहरीमा दिएको निवेदनले यस कुरा पुष्टि भइसकेको मन्त्री पोखरेलको दाबी छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई महाराजगञ्जस्थित घरबाट शनिवार राति पक्राउ गरेको थियो । पछि आईतवार दिउँसो उनलाई छोडिएको थियो । त्यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेले आफूलाई वरिष्ठ नेताको जिम्मेवारी दिएकोमा खुशी व्यक्त गरेकी छन् । रूपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै भण्डारीले आफूले पहिलोपटक पार्टी उपाध्यक्षको जिम्मेवारी बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाटै प्राप्त गरेको स्मरण गरिन् । भण्डारीले त्यतिबेला यस क्षेत्रमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, खेलमैदानलगायतका पूर्वाधार निर्माण गर्नुपर्ने विषयमा छलफल भएको र अहिले ती पूर्वाधार निर्माण सम्पन्न भएको बताइन् । भण्डारीले उद्योग व्यवसायमा संलग्न व्यक्तिहरूसँग छलफल गरी औद्योगिक क्षेत्रमा रहेका समस्या पहिचान र समाधान गर्दै अघि बढ्नुपर्ने धारणा राखिन् । ‘आज यहाँ अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनेको छ, राम्रा बाटाहरू पनि बनेका छन्,’ उनले भनिन्, ‘अब उद्योग व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा उद्योग व्यवसायमा लागेका मित्रहरूसँग सरसल्लाह गरेर औद्योगिक क्षेत्रमा रहेका समस्या समाधान गर्दै अगाडि बढ्नुपर्छ ।’









