
– अर्जुननरसिंह के.सी. –
त्यसैले जनताको उच्चतम हितका लागि यसको समयानुकुल संशोधन हुँदै जानु नै संवैधानिक गतिशिलता हो ।
संविधानको भद्र मनसायका रुपमा भूराजनीतिक परिस्थिति र छिमेकी मित्रराष्ट्रहरुको मनासिब चासो, चिन्ता र संवेदनशीलतालाई समेटेको भयो भने त्यो अझ दिगो र परिपक्व संविधान हुन्छ भन्नेमा हामी सचेत हुनुपर्छ । सात दशकको अवधिमा ७ वटा संविधान जारी भई सकेकाले हामी अब संविधानको प्रयोगशाला मात्र नबनौ, सबैको लागि र सधैको लागि दिगो संविधान बनाएर मुलुकलाई शान्ति, स्थिरता र विकासको बाटोमा लैजाऔ भन्ने दृढताबाट निर्देशित छौ ।
यो संविधान सबै कुराले परिपूर्ण छ भनि हाल्न सकिन्न । यो स्वयंममा सहमतिको दस्तावेज भएकाले यसमा धेरै गम्भीर असहमति पनि नभएका होइनन् । कतिपय विमतिहरुलाई मैले फरक मतको रुपमा अभिलेख गराएको छु । यसको समयानुकुल सुधार, संशोधन र परिमार्जन गर्दै लैजान सक्दा मात्र संविधान जीवन्त र उपयोगी रहन्छ । सविधानले सफलताको अवसर र चुनौतीको सामना गर्ने अधिकार दिन्छ तर हाम्रा दैनन्दिनीमा पैदा हुने यावत समस्याको समाधान यसैमा खोजेर पाइदैन । संविधानमा अन्तर्निहित प्रतिबद्धता के हो भने आपसमा मिलेर काम गरेमा हामी आप्mना नैसर्गिक स्वतन्त्रता, सामाजिक न्याय र आर्थिक अवसरको आकांक्षा परिपूर्ति हुने गरी स्वशासित हुन पाउँछौ । हामी व्यक्तिको शासनबाट होइन विधि र पद्धतिबाट शासित हुनेछौ ।
वर्तमानको कसीमा संविधानको मस्यौदा
लामो उतारचढाव र रस्साकस्सीपछि हामी संविधान निर्माणको ऐतिहासिक चरण र सुखद् क्षणमा पुगेका छौ । तर, संविधान सभाको बार्दलीबाट देशको अवस्थालाई नियाल्दा सुखद क्षणसँगै गम्भीर चिन्ताको अवस्था पछि छ । ‘अपनेघर मे आग लगा है अपने ही घर के चिराग से’ भन्ने जस्तो खासगरी मधेस वा थारुवान मागिएको क्षेत्रमा आगो सल्किएको छ । देशभक्त, सिदासादा र मिलनसार थारुहरुको काँधमा बन्दुक राखेर अपराधीहरुले आप्mनो स्वार्थको सिकार खेलिरहेका छन् । हिंसात्मक आन्दोलनपछि तराईमा अनगिन्ती सशस्त्र लुटेरा समुह पैदा भएर लामो अवधिसम्म मधेसी समाजलाई नै आतङकित र असुरक्षित बनाएका थिए । अहिले त्यही स्थिति दोहोरिदैछ, जसको प्रत्यक्ष मार हाम्रो मधेसी दाजुभाई दिदीबैनीहरुमाथि पर्ने निश्चित छ । कदाचित अधिकार खोजीको आन्दोलनको हिंसात्मक परिणति, तराई मधेस आतंककारीको स्वर्ग हुन नपाओस् भन्ने हेक्का मधेसका साथीहरुले लिनु अत्यन्त जरुरी छ ।
अशान्त र जटिल परिस्थितिलाई वार्ता र सहमतिद्वारा संविधान जारी गर्नुपर्ने वर्तमानमा कसैको अहम् र हठले चल्नु हुँदैन । त्यसैले जिम्मेवारी र उत्तरदायित्वका दृष्टिले यो क्षण हामी सबैको परिक्षणकाल भएको छ । राज्य संरचनापछि प्रान्तहरु आपसमा पानी बाराबार गरेर बस्ने होइनन् । यो भ्रममा नपरौं, कदापि त्यसो हुन पाउँदैन । एउटा प्रान्तको नेपाली नागरिक अर्को प्रान्तमा गएर बसोबास र व्यवसाय गर्न केहीले रोक्नेछैन । त्यसैले प्रदेश निर्माणको प्रक्रियालाई कसैले पनि जीवन मरणको सवाल बनाउनु किमार्थ उचित छैन ।









