
तसलीमा नसरीन
खाना खानेबेलामा बाबा सान्दाइको भागमा ठूल्ठूला मासुको चोक्टा र ठूल्दाइको भागमा एक टुक्रा हड्डी राखिदिनु हुन्थ्यो ।
सान्दाइका लागि घरमा चार जना मास्टर राखिएको थियो । गणित, अंग्रेजी, रसायनशास्त्र र भौतिकशास्त्रका लागि छुट्टाछुट्टै । उहाँ साँझमा ती मास्टरहरुकोमा पढ्न जानुहुन्थ्यो । मलाई चाहिँ घरमै आएर पढाउँथे । याश्मिनका लागि पनि छुट्टै मास्टरको व्यवस्था थियो । स्कुलबाट फर्किएर सुस्ताउन नपाउँदै मास्टर आइपुग्थे । कक्षा बढ्दै जाँदा घरमा पढाउन आउने मास्टरको संख्या पनि बढ्दै जान्थ्यो । ठूल्दाई र साद्याइले राति बाह्र बजेसम्म पढ्नु अनिवार्य थियो । मैले १० बजेसम्म र याश्मिनले ८ बजेसम्म । यो नियम बाबाले बनाउनु भएको थियो । दाइहरुले पढ्दा आवाज ननिकाले पनि फरक पर्थेन । त्यो छुट उनीहरुलाई थियो । तर याश्मिन र मैले आवाज निकाल्दै पढ्नु पथ्र्यो । हामी पढ्दैछो वा उँघ्दैछौ, थाहा पाउन बाबाले त्यो नियम बनाउनु भएको थियो । उता घडीको सुईले आठ नहान्दै मेरो आँखा लोलाउन थाल्थे । चाल मारेर मेरो छेउमा आउँदै बाबाले मलाई समालिहाल्नुहुन्थ्यो अनि भन्नुहुन्थ्यो, जा आँखामा तोरीको तेल हालेर आइज । अनि निन्द्रा लाग्दैन । आँखाले रोगीले मुन्टो पछाडि फर्काएर आँखामा दबाई हालेझै सिसीबाट आँखामा तोरीको तेल हाल्नु पथ्र्यो । मेरो आँखा भतभती पोल्थ्यो तर अब मलाई पढ्ने बेलामा निन्द्राले छोप्दैन भनेर बाबाचाहिँ ढुक्क हुनुहुन्थ्यो ।
पढाईको दौरानमा सान्दाइ आप्mनो मेचमा टाउको राखेर निदाउनु हुन्थ्यो । घरको मुलगेट खुल्नेबित्तिकै म सान्दाइलाई ठेलेर उठाइदिन्थेँ । उठनुस्, बाबा आइसक्नु भयो । सादाई आत्तिदै उठ्नुहुन्थ्यो । र्यालले उहाँको किताब भिजेको हुन्थ्यो । ओठदेखि गालासम्म र्याल सुकेर सेतै डोब बसेको हुन्थ्यो । उहाँका दुवै आँखा राताराता भएका हुन्थे । त्यसपछि खुट्टा हल्लाउँदै सान्दाइ पढ्न सुरु गर्नु हुन्थ्यो । खासमा उहाँ पढ्नु हुन्न थियो, मुखबाट एक तमासको गुनगुनको आवाज मात्र निकाल्नु हुन्थ्यो । क्रमशः









