
– अर्जुननरसिंह के.सी. –
तर त्यस्तो अडान हुनुमा संविधानसभाको चुनाव बिथाल्ने वा ध्वंसात्मक गतिविधिलाई भत्र्सना नगर्ने वा ध्वंसात्मक गतिविधिप्रति आँखा चिम्लिने गल्ती गर्नु हुँदैन । महान् राजनीतिक आन्दोलन एक दिनमा पूरा हुने कुरो हुँदैन । आन्दोलन एउटा प्रक्रिया हो । मधेस आन्दोलनले आफूलाई जनआन्दोलन २०६३ को एक अघिल्लो कडीको रुपमा लिनुपर्छ । जनआन्दोलन २०६३ ले दिएको जनादेशबाट अझै पनि हामी धेरै टाढा छौ । सार्वभौमसत्ता सम्पन्न संविधानसभाको चुनाव वा गणतन्त्रको घोषणासमेतले मूर्तता पाएको छैन । २०६३ सालको जनआन्दोलनले गणतन्त्रबाहेक आमजनताको गाँस, बास र कपासको मागसमेत राखेको थियो । नेपाली राज्यमा मधेसको सम्मानजनक सहभागिता र मधेसको अस्मिताको पूणर् सम्मानसमेत त्यसमा लुकेको माग थियो । अझ थोरै शब्दमा भन्ने हो भने एकाईसौ शताब्दीको सर्वथा नवीन किसिमको क्रान्तिको आह्वान थियो – त्यो जनआन्दोलन । कुनै समय जयप्रकाश नारायणले भारतीय जनक्रान्तिको विशेष चरणमा सम्पूणर् क्रान्ति भन्ने नारालाई लोकप्रिय बनाउनुभएको थियो । डा. राममनोहर लोहियाले अझ ठोस रुपमा सप्त क्रान्तिको कुरा गरेर जाति, जनजाति, भाषा, संस्कृति, रंगभेद, राष्ट्रभेद, नरनारी समताको आकांक्षा समेतलाई बाँधिदिनुभएको थियो । नेपालको हकमा यस्तो अवधारणा पनि पर्याप्त छैन । नेपाललाई चाहिएको क्रान्तिको ठोस रुपरेखा कोरिएकै छैन । मधेसको सहभागिता र नेतृत्वसहित त्यो रुपरेखा कोरिन सक्छ । संविधानसभाले पनि त्यो रुपरेखा कोर्न सक्छ । संविधानसभाको एउटा चुनाव सम्पन्न हुँदैमा नेपालमा सबै थरीका संघर्ष र विद्रोहमा विरामचिन्ह लाग्छ भन्ने होइन । क्रान्ति एक सतत् प्रक्रिया हो । संविधानसभाले क्रान्तिलाई निरन्तरता प्रदान गर्ने हो, अवरुद्ध गर्ने होइन । त्यसैले अहिलेका हकमा र अहिलेको परिस्थितिमा संविधानसभाको चुनाव बिघ्न गर्नु पनि परिवर्तनकारीको लक्ष हुन सक्दैन । मधेसका क्रान्तिकारी मित्रहरुले यस तथ्यलाई हृदयंगम गर्नु आवश्यक छ ।
क्रान्ति र हिंसा एक अर्काका पर्याय हुँदै होइनन् । स्वयं चुनाव पनि क्रान्तिको पूरक कार्यक्रम हो । विश्व कम्युनिष्ट आन्दोलनले यी दुईवटा कुरा बेलैमा नबुझेको फलस्वरुप आज विश्व कम्युनिष्ट आन्दोलन दुनियाँभरि अत्यन्त कमजोर अवस्थामा छ । एकाईसौ शताब्दीको कुनै पनि क्रान्तिकारी आन्दोलनले हिंस्रक माध्यम अपनाउने मूल गर्नु हुँदैन । हिंस्रक आन्दोलनले क्षणीक उत्तेजना दिन सक्छ, तत्कालीन दृष्टिकोणले हिंस्रक आन्दोलनले नाम वा दुर्नाम पनि कमाउन सक्छ । तर अन्ततः प्रत्येक हिंस्रक आन्दोलन आफै आत्मपराजित र आत्मनिर्वासित हुन पुग्छ । माओवादी पृष्ठभूमिबाट आएका मधेसवादी नेतालाई यो कुरो बुभ्mन गाह्रो भएको होला, अरुले नसम्झाई हुँदैन । मधेस आन्दोलनमा लागेका सबै थरी नेता र कार्यकर्ताले तत्काल अहिसा र सत्याग्रहको बाटोमा अग्रसर हुनु आवश्यक छ । त्यस्तो भएमा मधेस आन्दोलन स्वयं झन् सशक्त र सम्मानित हुनेछ ।
वर्तमान राज्यको शीर्षस्थानमा बसेका नेता र हाकिमहरु मधेस आन्दोलनको भावना बुझ्न अप्ठेरो महसुस गरिरहेका छन् । क्रमशः









