
तसलीमा नसरीन
सान्दाइले मेड इन जर्मन रेकर्ड प्लेयर लिएरै जानुभयो ।
थुप्रै दिन बित्यो तर कुनै सामान मर्मत भएर आएन ।
मलाई जे कुराको शंका लागेको थियो, त्यो भएरै छाड्यो । एकदिन बाबा कुबेलामा नै घर फर्कनुभयो । मेरा सारा शरीर चिसो भयो । बाबा आएको थाहा पाएर दुवैजना एउटा कोठामा पसे । भित्र कोठाको ढोका लगाएको आवाज बम पड्किएझै आयो । कुनै अन्जान आवाज सुनेर बाबालाई शंका नलागोस् । किनभने त्यो आवाजलाई पछ्याउँदै बाबा कहाँसम्म पुग्न सक्नुहुन्छ भन्न मुश्किल थियो ।
मेरो पूरै शरीर काबुमा थिएन । आमा त्यो बन्द ढोकाबाहिर उभिएर यसरी बोल्न थाल्नुभयो, मानौ त्यो कोठाको ढोका बन्द गर्नु अति जरुरी थियो । आमा एकदम निरर्थक बर्बराउन थाल्नुभयो । मलाई हातमुख धोएर खाजा खान बस भन्नुभयो जब कि स्कुलबाट आएर मैले अघि नै खाजा खाइसकेकी थिएँ ।
हाम्रो घरमा पढ्दै छौ, छैनौ, जाँच गर्न बाबा बेलाबखत साँझैमा घर आउनुहुन्थ्यो । सबै कोणचिराबाट घुमेर बाबा त्यो बन्द कोठानजिक आइपुग्नेबित्तिकै आमाले सोध्नुभयो, केही खाने हो ? खाना पस्किुउँ ? आमाको यो प्रश्न पनि तुकहीन थियो । त्यो बेला न त बिहानको न त रातिको खाना खाने बेला थियो । केही नबोली बाबाले ढोका धकेल्नुभयो । ढोका भित्रबाट बन्द थियो जब कि घरका सबैजना बाहिरै थिए । त्यसो भए भित्र को छ ?
बाबाले ढोकामा धक्का मार्दै सोध्नुभयो, भित्र को ? चुपचाप आमा ढोका अगाडिबाट हट्नुभयो । अब पहरा दिनुको कुनै अर्थ थिएन । मलाई अचानक पिसाबले च्याप्यो । याश्मिन कुनै मुर्तिझै जड भएर किताबतिर निहुरिएर बसि । अब बाबालाई पन्छाउन असम्भव नै थियो । भित्र को छ भन्ने बाबाको प्रश्नको जवाफ दिन कोही तयार थिएनन् । जवाफको आशामा बाबाले फेरि सबैतिर आँखा डुलाउनुभयो ।
यत्रो जाँचपड्तालको कुनै जरुरी थिएन । क्रमशः









