
मित्रसेन दाहाल
यस्तो सुनौलो इतिहास बोकेको पार्टीलाई अहिले वामशक्तिहरुले चारैतिरबाट छेकेका छन् । जबजब नेपाली काँग्रेस कमजोर हुन्छ तबतब उग्रदक्षिण पन्थी र उग्रवामपन्थीले हरतरहले पेल्ने गरेका छन् । काँग्रेसइतरको प्रहार र फुटको परिणतिबारे थाहा हुँदाहुँदै पनि नेपाली काँग्रेस झन्डै पाँच वर्षअगाडि सत्ता र पदको विषयलाई लिएर दुई टुक्रा भयो । यसको पृष्ठभूमि २०४९ सालदेखि तयार भएको भए पनि पूणर् आकार भने २०५९ सालमा आएर लियो । यही मौकाको फाइदा लिएर २०५१ सालमा भएको मध्यावधि निर्वाचनको माध्यमबाट एमालेले एकल अल्पमतको शासन गर्न सफल भयो । त्यसपछिको देशको अस्थिरताको माओवादीले सशस्त्र विद्रोह गर्ने मौका पाए ।
संसारकै सबभन्दा राम्रो मानिएको संसदीय व्यवस्थाविरुद्ध हतियार उठ्नु कम दुःखदायी कुरा होइन । त्यसैगरी, यही बीचमा वंश नै विनास हुनेगरी दरबार हत्याकाण्ड भयो । त्यसपछि देशमा रक्तपात नै मच्चियो । सबभन्दा कमजोर राजनीतिक पृष्ठभूमि भएको ज्ञानेन्द्रले सत्ता हत्याए । त्यसको विरुद्ध भने नेपाली काँग्रेसजस्तो शालीन र प्रजातान्त्रिक पार्टीले उग्रवामपन्थी र अन्य वामपन्थीहरुको साथ लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । दुइटै हतियारधारी शक्तिको विरुद्धमा लड्न नेपाली काँग्रेसलाई नमिली सुखै भएन हतियारधारी शक्तिसँग प्रजातान्त्रिक शक्तिले मिलेको परिणाम नेपाली काँग्रेस यतिखेर भोगिरहेको छ । अझै पनि विश्वसमुदाय र नेपाली जनताले नेपाली काँग्रेसलाई नै माया गरिरहेका छन् ।
नेपाली जनताको मायालाई नबुझेर आफैमा गुट, उपगुट र सत्ता मोहका कारण र काँग्रेसले २०५१ सालमा सानो गल्ती गर्दा यो अवस्था सिर्जना भयो । यदि काँग्रेसले आफैमा सत्ताको किचलो निकालेर चौहत्तरे र छत्तीसेको समूह नबनाई ढुक्कका साथ प्रजातान्त्रिक तबरबाट आन्तरिक रुपमा मिलेर शासन गरेको भए काँग्रेसले आज राजादेखि वामपन्थीसम्म घुँडा टेक्नुपर्ने अवस्था आउने थिएन । नेपाली काँग्रेसको विभाजनको फाइदा लिएर राजाले शासन लिनेदेखि देश वामपन्थीमयसम्म हुनपुग्यो । क्रमशः









