
– अर्जुननरसिंह के.सी. –
२०१७ सालमा केही अवधि बन्दी जीवन बिताएर छुटेपछि उहाँ निर्वासनमा जानुभयो । नौवर्षको निर्वासित जीवनपछि उहाँ २०२६ सालमा स्वदेश फर्किनुभयो । निर्वासनका अवधिमा पार्टीका काम गर्नुका साथसाथै उहाँले उत्तरबङ्गाल विश्वविद्यालयमा अध्यापन गर्नुभयो । सिद्धान्तको राजनीतिक अभियानका क्रममा उहाँले आजको सरल राजनीति, व्यावहारिक राजनीति : प्रारम्भिक रुपरेखा कम्युनिष्ट म्यानिफेस्टो : समाजवादको आधारशीला, मन जे मान्यो सत्य आदि पुस्तकहरु लेख्नुभएको छ । पार्टी प्रतिबन्धकालमा उहाँले घरभित्र घरबाहिर स्तम्भमा श्रीनिष्पक्ष नामले कार्यकर्तालाई प्रशिक्षण हुने र जनतामा चेतना जागरण गराउने अनगिन्ती फुटकर लेख रचनाहरु प्रायः राष्ट्रपुकार साप्ताहिकमा लेख्नुभयो । त्यसका अतिरिक्त नेपाली, अँग्रेजी र हिन्दीमा अनेकौ लेखहरु लेख्नुभयो । ती लेखहरुको सँगालो र सम्पादनको काम साहित्यकार कृष्ण धरावासीले गर्नुभएको छ । भरतबाबुले विद्यामणि र तरुण जस्ता पत्रिकाको सम्पादन पनि गर्नुभयो । विश्व राजनीति, खासगरी नेपाल, भारत र दक्षिण एसियाको राजनीतिबारे उहाँलाई इन्साइक्लोपेडिया (विश्वज्ञान भण्डार) नै मानिन्थ्यो । काँग्रेसका अग्रज नेताहरु उहाँलाई विशेष श्रद्धाका साथ व्यवहार गर्नुहुन्थ्यो ।
समाजसेवामा पनि प्रा.सीके प्रसाईको योगदान थियो । २०१२ सालमा अनारमनि (झापा) मा उहाँले एउटा हाईस्कुल स्थापना गर्नुभयो । अन्य दानदातव्यहरुमा पनि उहाँको नाम लिइन्थ्यो । २०४८ पछि पार्टीमा देखिएको विवादबाट उहाँ निकै दुःखी हुनुभएको थियो । २०५० सालमा उहाँको मुटुको शल्यक्रिया भएको थियो । यता पार्टीको विवाद चर्किदैजाँदा सो वर्ष फागुन ७ गते शनिबारकै दिन झापा–विर्तामोड (देवीबस्ती) स्थित आफ्नो निवासबाट उहाँले पार्टी नेता महेश्वरप्रसाद सिंहलाई फोन गर्नुभयो र पार्टी विवादको अवस्थाबारे सोध्नुभयो । विवादको खबर सुनेपछि टेलिफोन राखी नसक्दै अचानक हृदयघातबाट उहाँको निधन भयो ।
उहाँ फागुन ६ गते १९८९ सालमा सर्लाहीको पडरियामा जन्मनु भएको थियो । तेह्रथुम (आजकल ताप्लेजुङ) को आठराई–हाङपाङबाट उहाँका पिता तराईम बसाई सरेर आउनुभएको थियो । स्व. प्रसाईलाई नेपाली काँग्रेसमा मात्र होइन, समग्र नेपाली राजनीतिको क्षेत्रमा उच्च आदर्शवादी नेताका रुपमा मानिन्छ ।
दिलिपकुमार (डीके) शाही
नेपाली काँग्रेसको स्थापनाकालदेखि नै समर्पित र सक्रिय भएर क्रान्ति र परिवर्तनदेखि जिम्मेवारीको वैचारिक तथा शान्तिपूर्ण राजनीतिसम्म नेपाली काँग्रेसका नेता दिलिपकुमार (डीके) शाहीको योगदान र व्यक्तित्व अविष्मरणीय छ । उहाँ २००३ सालमा भारतीय नेपालीको हकहितका लागि स्थापित संगठन अखिल भारतीय गोर्खा लिग छोडेर आउनुभ एको थियो । नेपाली राष्ट्रिय काँग्रेसको स्थापनादेखि नै काँग्रेसका राजनीतिक गतिविधिमा अनवरत रुपले लागेर २००७ सालदको क्रान्ति २०१७ सालपछि निर्वासनका दिनहरुमा काँग्रेसमा गहकिलो योगदान पुर्याउनुभएको बौद्धिक नेता हुनुहुन्थ्यो उहाँ । पत्रपत्रिकामा नियमित रुमपा राजनीतिक लेख लेख्ने शाही, काँग्रेसको अंग्रेजी मुखपत्र नेपाल टुडेको सम्पादक बन्नुभयो । क्रमशः









