
– डा. तुलसी भट्टराई/उद्धव उपाध्याय/महेन्द्रप्रकाश सिवाकोटी –
गिरिजाबाबु कुनै पनि कुराको झ्वाट्ट जवाफ दिँदैनथे, दिएनन् । उनले कैयौ जवाफमा कतिको साथ पाए, कतिमा पाएनन् । कहिले नाम भयो कहिले बदनाम ।
मनिषालाई अर्को कुरा पनि थाहा छ । सुनाइन्, उहाँका एकदमै नजिक बस्नेहरुले गलत सल्लाह दिएको पनि देखेकी छुँ । पछिल्लो समय गिरिजाबाबुसँग आप्mनो पुस्ताका साथी थिएनन् । निकटतम मित्र पनि कोही थिएनन् । जसलाई उनी मनका कुरा सुनाउन सक्थे । उमेरको सिढी उक्लिएर धेरै माथि पुगेपछि उनलाई यस्तै मित्रहरुको अभाव महसुस भएको थियो ।
मनिषा उदास हुन्छिन्, उहाँ सधैँ एक्लो हुनुहुन्थ्यो । सिनेमा र जीवनमा यही फरक छ । सिनेमामा मनिषाले चिता जल्नुअघि कैयौ मानिसको अनुहार हेरेकी छन् । तर यथार्थमा उनले निकटम व्यक्तिहरुको अनुहार अन्तिमपल्ट हेर्न पाएकी थिइनन् ।
बीपी खस्दा मनिषा सानै थिइन्, मृत्युलाई खासै महसुस गर्न सकिनन् । यसपाली रोगले बेस्मारी ङ्याकिएका गिरिजाबाबुलाई भेट्न गएकी थिइन् । गिरिजाबाबुले ट्वाल्ल परेर हेरे, तर बोल्न सकेनन् । एकदम कमजोर देखिन्थे । अनुहारमा रौनक थिएन । फुङ्ग उडेको थियो । आँसु थाम्दै मनिषा फर्किन । मनिषालाई लागिरहेको थियो – सानोबुबा यस्ता कैयौ अवस्थाबाट गुज्रिसक्नुभएको छ । उहाँ रोगलाई जितेर फर्किनु हुन्छ । तर सधैँ मृत्युको ग्राफलाई तोड्न सकिन्न । शनिबार । मनिषा एउटा साहित्यिक कार्यक्रममा थिइन– अतिथि भएर । दिउँसो एक बजेतिर फोन आयो । फोन सहयोगी हरिदाइले गरेका रहेछन् । उनले उनले हतास स्वरमा भनेछन् । आइहाल्नुपर्यो । मनिषाको मुटु हिउँ भयो । उनी अत्तालिँदै पुग्दा त सानोबुबा त हिँडिसकेका रहेछन् ।
घर पुग्दा भीडभाड थियो । गेटबाहिर मानिसहरुको ठेलमठेल । सबैका गला अवरुद्ध । पत्रकारले अन्तर्वार्ता पनि लिन खोजे , तर मनिषाको वाक्य फुटेन ।
उनी भीड पन्छाउँदै भित्र पसिन । घरभित्र सबै सन्न थिए । सबैका आँखा रसिला । छट्पटी । हतारमा कोही यता कुदिरहेका, कोही कता । क्रमशः









