
– अर्जुननरसिंह के.सी. –
– रेडियोबाट जनक्रान्ति सुरु, २००७ मंसिर २८ गते : आधुनिक रेडियो नेपालको पूर्वरुप, नेपाली काँग्रेसको प्रसारण संस्थाको रुपमा नेपाल प्रजातन्त्र रेडियोको प्रसारण सुरु । २००८ साल असार १५ मा प्रजातन्त्र रेडियो नेपाल, विराटनगरबाट काठमाडौमा वर्तमान रेडियो नेपाल नामकरण परिमार्जन सहित सञ्चालन ।
– भोजपुरबाट पनि रेडियो प्रसारण, २९ मंसिर २००७ : मुक्तिसेनाले भोजपुर कब्जामा लिएको ५ दिनपछि त्यहाँको आकाशवाणीलाई रेडियोको लागि विकसित गरेर प्रसारण प्रारम्भ गरिएको, सञ्चालक जयन्द्र थपलिया । तर प्रसारणमा असावधानीवश मुक्तिसेनाको रणनीतिक कार्यक्रम पनि प्रसारित भएर प्रत्युत्पादक कुन थालेपछि क्रान्तिकारीहरुबाटै प्रसारण स्थगन ।
– दोस्रोपटक ओखलढुंगा कब्जा, २००७ पुस ३ गते : काँग्रेसका सेनानी मुगाधन राईको नेतृत्वमा ओखलढुङ्गा कब्जा, सेनाबाट कब्जा फिर्ता गरिए पनि पुस ३० गते दोस्रोपटक काँग्रेसद्वारा ओखलढुङ्गा कब्जा ।
– काँग्रेस–राणा नयाँदिल्ली असफल वार्ता, २००७ पुस २४ : नेपाली काँग्रेस र राणशाहीको तर्फबाट केशर शम्शेर र विजय शम्शेरका बीच नयाँदिल्लीमा वार्ता असफल भएपछि प्राइम्मिनिस्टर मोहन शम्शेरद्वारा प्रतिरक्षाको रुपमा २००४ सालको नेपाल सरकार वैधानिक कानुन २००५ साल वैशाख १ गतेदेखि लागु भएकोदेखि शासनमा सुधार गरिएको भन्ने लामो व्यहोराको वक्तव्य ।
– जनक्रान्तिमा युद्धविराम, २००७ साल माघ १६ : वीरगञ्जबाट सुरु भएको जनक्रान्ति ११० दिनपछि नेपालगञ्जमा राणा शासनलाई अन्तिम प्रहार गरेर युद्धविरामको रुपमा स्थगित ।
– दिल्ली सम्झौता, २००७ फागुन १ : नेपाली काँग्रेस, राजा त्रिभुवन र राणाबीच भारतको नयाँ दिल्लीमा त्रिपक्षीय समझदारी ।
– राजा त्रिुभवन स्वदेश फिर्ती, ४ फागुन २००७ : काँग्रेसका नेताहरुद्वारा राजासँग वार्ता स्वदेश (पाल्पा) मै गर्ने, त्यस निम्ति रुद्र शम्शेरको आतिथ्यमा पाल्पा लैजाने योजना बनाएको विपरीत नेहरुमाथि बढी भरोसा राखेर त्रिभुवन करिब साडेतीन महिनासम्म नयाँ दिल्लीमा बसी स्वदेश आगमन ।
– राणा शासनको अन्त्यतिर, फागुन ७, २००७ साल (फेब्रुअरी १८, १९५१) : एकशय चारवर्षे राणाशाही नेपाली काँग्रेसले आयोजना गरेको ऐतिहासिक जनक्रान्तिद्वारा पतन । राणा–काँग्रेस संयुक्त मन्त्रिमण्डलको गठन, राणा प्रधानमन्त्री मोहन शम्शेर संयुक्त मन्त्रिमण्डलमा पनि प्रधानमन्त्री । गृहमन्त्रीमा बीपी, आधुनिक लोकतान्त्रिक प्रणालीद्वारा मुलुक चलाउने प्रतिबद्धताअनुरुप शासन प्रशासन आदिमा आमुल सुधारको प्रक्रिया प्रारम्भ । अन्तरिम संविधान जारी, प्रधानन्यायालय, लोकसेवा आयोगको स्थापना, राजपत्र (गजेट) को प्रकाशन प्रारम्भ, बिर्ता उन्मूलन । शिक्षा, स्वास्थ्य यातायात, सञ्चार, बैकिङ, कृषि, उद्योग आदिको स्थापना र सञ्चालनमा व्यापकता ।









