
– अर्जुननरसिंह के.सी. –
यस समितिले प्रकाशित गर्न लागेको मुख पत्रले सिङ्गो मुलुकलाई वैचारिक सन्देश र प्रेरणा दिन सकोस् भन्ने मेरो कामना छ । यस समितिका अध्यक्ष श्री रमेश महर्जनको आग्रह टार्न नसकेर अत्यन्त छोटो समयमा सो प्रकाशनका लागि यो आलेख तयार गरिएको छ ।
विषय प्रवेश ः आज नेपाल स्थायी शान्ति र नयाँ संविधान लेखनको लागि संक्रमणकालीन स्थितिमा रहेको छ तर संक्रमण काल गतिहीन भई रहेको छ । युग परिवर्तन तथा जनताले सार्थक अनुभव गर्न पाएको लोकतन्त्रका लागि सहयात्रा, एकता र सहकार्यको कार्यशैलीबाट अगाडि जानु पर्छ भन्ने नेपाली काँग्रेसबाट स्थापित राष्ट्रिय मान्यता, आवश्यक तथा निर्विवाद जनादेशका रुपमा स्थापित भइ सकेको हो । सहयात्राले अनुकुल परिस्थितिको, एकताले प्रगतिको र सहकार्यले सफलताको ढोका खोल्दछ भन्ने मान्यताबाट नै काँग्रेसले माओवादीलाई शान्तिपूणर् राजनीतिको मूलधारमा ल्याउने जटिल र जोखिमपूणर् प्रक्रिया अगाडि बढाएको हो । समावेशी लोकतन्त्रलाई हामी यिनै त्रिगुणले युक्त बनाउने कसरत गरि रहेका छौ । अधिकार सम्पन्न जनता कर्तव्य परायण राज्य व्यवस्था भन्ने मान्यता काँग्रेसले वरण गरेको लोकतन्त्रको विशेषता हो । कर्तव्य विनाको अधिकारले अराजकतातिर धकेल्ने जोखिम हुन्छ भने अधिकार विनाको कर्तव्यले केवल दासत्वको अवस्था निम्त्याउँछ ।
लोकतन्त्रमा अधिनायकवादी शासनभन्दा ठिक विपरीतका जनमुखी मान्यताहरु स्थापित गरिएको हुन्छ । संविधान शासन गर्ने पुस्तक हुनुभन्दा पनि अनिवार्यतः नागरिकहरुको स्वतन्त्रता र चौतर्फी विकासलाई सुनिश्चित गर्ने घोषणा पत्रका रुपमा अपनाइएको हुन्छ । नयाँ संविधान कहिले बनि सक्ने हो तर हामीले खोजेको लोकतान्त्रिक संविधानमा आधारभूत अनिवार्य कुरा यिनै हुन् । लोकतन्त्र फगत नारा होइन, जीवन मूल्य र जीवन दर्शन हो । यो प्रतिक्रिया होइन, जनमुखी प्रक्रिया र प्रबृत्ति हो । राज्य सञ्चालनको आधार मात्र होइन, प्रत्येक नागरिकको सार्वभौम अधिकार तथा जीवन सञ्चालनको उचित बाटो हो । कुनै पनि संविधानले यी आधारभूत कुरालाई आफूभित्र बोकेको छ कि छैन, संविधानको सर्व स्वीकार्यता नाप्ने आधार त्यही नै हो । आप्mनो जन्म कालदेखि नै काँग्रेसले लोकतन्त्रको बाटो अपनाउँदै यो इतिहासको विरासतलाई आप्mनो दायित्वका रुपमा निरन्तर निर्वाह गर्दै आएको हो ।
लोकतन्त्र, इतिहासको विरासत ः परापूर्व कालदेखि नै नेपाली जनता पारस्परिक अस्तित्व बोध, एकता र सहमतीय कार्यशैलीमा विश्वास राख्ने जातिका रुपमा स्थापित रहँदै आएका विशिष्ट संस्कृति र सभ्यताका नमुना हुन् । यही मान्यतामा काँग्रेसको राष्ट्रियताको सिद्धान्त उभिएको छ । लोकतान्त्रिक शासनमाथिको प्रतिबद्धता र राज्य व्यवस्थाको मूल्याङ्कनका आधारमा आवश्यकता अनुसार विद्रोह र संघर्ष गर्ने जाति भएको हुनाले नेपाली जनता दासता र निरंकुशता कहिल्यै स्वीकार्न सक्दैन ।
आजभन्दा पच्चिस सय वर्ष अगाडि नै बुद्ध कालमा कपिलवस्तु राज्यले प्रशासन सञ्चालनका क्रममा राजसभा, गणपुरक, महापौर, नागरिक जस्ता शब्दावली प्रयोग गरेको थियो । क्रमशः









