
– पेशल पोखरेल –
उहाँ किन जानुभयो मलाई थाहा छैन । मतलब पञ्चायतको संविधानलाई मान्न भनेर जानुभएको अवश्य होइन । पुस १ गते जानुको के मतलब थियो । माफी पाएर आउनुभयो शायद माफी पाउँदा केही स्वीकार्ने सर्त थियो कि या सुवणर्जी र सूर्यबाबुको सल्लाह थियो कि यसबारेमा मलाई थाहा छैन । कुन आधारमा आममाफी दिइयो र कुन आधारमा पुस १ गतेको राजको कार्यक्रममा गइयो । यसको मूल आधार के हो बुझ्न सकिएको छैन । यस्तै सम्झौताको कारणले नै शायद सूर्यबाबुले किसान संगठनको सदसइता लिनुभयो होला तर सूर्यबाबु कहिले पनि नेपाली काँग्रेसको नीति विपरित काम गरेको थाहा पाइएन । उहाँ जहिले पनि प्रजातन्त्रको पक्षमा देखिनुहुन्थ्यो । हामी साथीभाईलाई जहिले पनि सद्भावको दृष्टिले हेर्नुहुृन्थ्यो । पार्टीको निमित्त आवश्यक सहयोग गर्नुहुन्थ्यो यति हुँदाहुँदै पनि २०३५-०३६ सालतिरबाट पार्टीमा सक्रिय देखिनुभएन राजनीतिभित्रको राज के थिाये यथार्थ मैले मात्रै नबुझेको हो कि अरुले पनि बुझेका छैनन मैले बुझेको छैन । हामी बरु काँग्रेसबाट गयौ । पञ्चायतको पदाधिकारी पनि भयौ । यद्यपि हामीले प्रजातन्त्रको पक्षमा नै बहस गर्यौ । सूर्यबाबु त त्यसरी कतै गएको पनि देखिएन । सँधै बहुदल वा प्रजातन्त्रको पक्षमै देखिनुभयो र पनि उहाँलाई पार्टीले सम्मान गरेन । यो अचम्मको कुरा भएको छ । सूर्यबाबुको व्यवहारमा काँग्रेस विरोधीपना मैले देखेको छैन । म राष्ट्रिय पञ्चायतमा हुँदा पनि उहाँ मलाई बहुदल र प्रजातन्त्रलाई जोगाउने सल्लाह दिनुहुन्थ्यो । एक पटक मलाई तिमी पञ्चायतमा प्रवेश गर्यौ । ठीकै छ, त्यहाँको यथार्थ बुझेर त्यसलाई प्रजातन्त्रको निमित्त प्रयोग गर्नुपर्दछ भन्नुभएको थियो ।
२०३०-०३१ सालतिरको कुरा हो । हामीले राष्ट्रिय पञ्चायतभित्र बालिग मताधिकारको आधारमा चुनाव हुनुपर्दछ भनेर भन्यौ र बाहिर पनि वक्तव्य दियौ १७-१८ जनाले । त्यही वापत हामीलाई ६ महिना जेल पनि हालियो । डा. तुलसी गिरी दोस्रो पटक प्रधानमन्त्री भएर आएपछि हामी निस्क्यौ । त्यसमा हरेन्द्रबहादुर थापा, म, गणेशबहादुर खत्री, केवी भट्टराई आदि जेल परेका थियौ ।
म राष्ट्रिय पञ्चायतको चुनाव उठ्दा सूर्यबाबु र सुवणर्ले सक्दो सहयोग गर्नुभएको थियो । भारतमा भएका कार्यकर्तालाई सुवणर्जीले नै पाल्नुभएको थियो । त्यसबेला नेपालमा रहेकालाई पनि गर्नुभएको हो । देशभित्र दृश्य, अदृश्यरुपमा रहेका युवा विद्यार्थी कार्यकर्तालाई सूर्यबाबुले सक्दो सहयोग पुर्याउनुभएकै हो । त्यसैले प्रतिबन्धित दिनहरुमा पनि नेपाली काँग्रेस बाँचेको थियो । काँग्रेसको सिद्धान्तले स्थान पाएको थियो । विचलित भएका कार्यकर्तालाई आश्रय बनेको थियो सूर्यबाबुको घर ।
२०३३ पछि आएर बीपी पनि सुवणर्जी र सूर्यबाबुले अबलम्बन गरेको नाम फरक भएपनि मेलमिलापको नारा लिएर आउनुभयो । तर पनि बीपी सँधै उच्च रहनुभयो । सूर्यबाबु अलि पछाडि देखिनुभयो । किन त्यसो भयो मैले बुझ्न सकेको छैन ।
२०६३।०१।२३
समाप्त









