
– हरिशंकर मिश्र –
बुबाले जिमिन्दारीमा मन लगाउनुभएन । समाज सेवा रोज्नुभयो । बुबा र भद्रकाली मिश्र मिलेर प्रारम्भिक जीवनमै लोकसेवक संघ खोलेर समाज सुधार सम्बन्धी गाउँटोल सफा गर्दै बढार्दै हिँड्न थाल्नुभयो । बर्घाको गान्धी आश्रममा ट्रेनिङ्ग लिएर आएपछि बुबा लोक सेवक संघमा लाग्नुभएको थियो । त्यसबेलासम्म उहाँको काँग्रेससँग सम्पर्क थिएन । बुबा संगीतप्रेमी पनि हुनुहुन्थ्यो । संगीतको माध्यमबाट पनि समाज सुधारमा अरुलाई प्रेरित गर्नुहुन्थ्यो । जमिन्दारको छोरो गाउँको सरसफाइमा झाडु कुचो लिएर हिँडेको देखेर अरु छक्क पर्थे । जयनगरमा रहेका काँग्रेसी नेताहरुले यो थाहा पाएछन् र महेन्द्रनारायण निधीलाई भनेछन् । निधिजी मार्फत बुबा (रामनारायण मिश्र) नेपाली काँग्रेसमा प्रवेश गर्नुभयो । यसपछि हाम्रो परिवार नेपाली काँग्रेससँग निकट बन्यो र सूर्यबाबुसँग चिनजान आवतजावत भयो । बुबा सूर्यबाबु र सुवणर्जीको नजिक हुनुभयो ।
युवा छँदा मेरो बुबा विरक्त भएर घुम्न भनेर हरिद्वार पुग्नु भएछ । अनि सबै लुगा फाटो दान गरेर तीन दिन तीन रातसम्म जंगलमा एकान्तबास बस्नुभएछ । यसको लामो कथा छ । देवी आस्वासनले उहाँ फर्कनुभयो । फर्केर आएपछि चुनाव जितेर वाणिज्य मन्त्री हुनुभयो । वीरगञ्ज अधिवेशनमा विश्वबन्धु थापाले षड्यन्त्र गरेर उहाँमाथि इण्डिएन भिजनको भन्ने अभियोग लगाइयो । त्यसपछि महेश्वरप्रसाद सिंह र विश्वबन्धुको लछारपछार नै पर्यो, त्यसमा डा.गिरी, रुद्रप्रसाद गिरीहरुले पनि विश्वबन्धुको विरोधमा महेश्वरप्रसाद सिंह र रामनारायण मिश्रलाई साथ दिए । त्यसपछि बुबाले राजीनामा दिएर ५, ६ दिन पार्लियामेन्ट जानुभएन पछि सुवणर्जी, सूर्यबाबुहरु आएर सम्झाउनु भयो ।
२०१७ को घटनापछि सूर्यबाबु ९ महिनामा छुटी सक्नुभएको थियो । बुबा जेलमै छँदा हामीले उहाँलाई कसरी भेट्ने के गर्ने भन्ने बडो संकट थियो भेट्न दिदैनथे, त्यो सबै सूर्यबाबुले व्यवस्था मिलाई दिनुहुन्थ्यो । किताब, लुगाफाटोको व्यवस्था गरेर जेलमा सूर्यबाबुले नै पठाउनुहुन्थ्यो । मेरो आमा र म आएर बुबालाई भेट्थ्यौ । बुबाको बारेमा भन्नुपर्दा सूर्यबाबुले नै सबै थोक गर्नुहुन्थ्यो । बुबा जेलबाट छुटेर आउँदा निकै रोगी भईसक्नुभएको थियो । उहाँलाई पहिला सूर्यबाबुको घरमै लगिएको थियो । त्यसबेलामा पनि सबै सेवा सहयोग सूर्यबाबुले गर्नुभएको थियो । डाक्टरले अब एक महिना मात्र रहन सक्नुहुन्छ भनेका थिए । सूर्यबाबुले सारा दुःख गरेर उपचारका लागि भारत पठाउने व्यवस्था गरिदिनुभयो । सूर्यबाबुको इण्डिया र राजासित राम्रो सम्बन्ध थियो । राजा महेन्द्र घोडमाथि चढेर हामीलाई भेट्न आए । उहाँले रामनारायणका छोरा र श्रीमती भनेर हामीलाई चिनाउनुभयो । सूर्यबाबु जयनगर जाँदा हाम्रै घरमा बस्नुहुन्थ्यो । हामी पनि काठमाडौमा सूर्यबाबुकहाँ बस्थ्यौ । हाम्रो पारिवारिक सम्बन्ध थियो । बुबालाई भारत पठाएर पनि उहाँको स्वास्थ्यको नियमित खबर लिई राख्नुहुन्थ्यो । जुन दिन बुबालाई रिलिज गर्यो त्यै दिन बुबालाई हस्पिटलबाट ल्याएर सूर्यबाबुले सारा काम गरेर पठाउनुभयो । त्यसमा सूर्यबाबुका भतिजा किरणले पनि धेरै सहयोग गरे । बुबालाई भारत लगेपछि पनि केही सुधार भएन, उहाँ पटनामै स्वर्गे हुनुभयो । क्रमशः









