
– हेमराज शास्त्री –
बिहान ८ बजे हरेक दिन जमघट हुने गथ्र्यो । सूर्यबाबुकहाँ को जान्छ ? कसले कसलाई लिएर जान्छ त्यसको पूणर् निगरानी सरकारले गरेको हुन्थ्यो । उहाँको घर वरिपरि गुप्तचरहरु खटाइएका हुन्थे । तर, उहाँ सदैव प्रजातन्त्रको पक्षमा बहस गरिरहनुभयो ।
जेलबाट निस्केपछि उहाँ प्रजातन्त्रवादीहरुको आशाको केन्द्र हुनुभयो । जेलमा बसेका साथीभाइलाई के मद्दत गर्नुपर्ने हो, पत्रपत्रिका, पुस्तक, खर्च पठाउने, छुटेर आएकालाई घर जाने भए भाडा दिने, बस्ने भए बस्ने व्यवस्था मिलाउने, राजनीतिमा लागेका नेताका छोराछोरीलाई देशविदेशमा पढ्न छात्रबृत्ति मिलाइदिने आदिजस्ता मानवीय कार्यमा उहाँ लागिनै रहनुभयो । पञ्चायतकालमा सूर्यबहादुर थापाजस्ता वरिष्ठ व्यक्तिहरु पनि उहाँसँग सल्लाह लिने गर्थे । उहाँ सबैलाई ठीक सल्लाह दिने गर्नुहुन्थ्यो । पञ्चायतका मन्त्रीहरु पनि उहाँका कुरा सुन्ने गर्थे जसले देशभित्र रहेका काँग्रेस नेताहरुलाई काम गर्न सजिलो भएको थियो । सूर्यबाबुको राजनीतिक दर्शन थियो अब सशस्त्र विद्रोह पनि नगर्ने र देशबाहिर पनि नजाने । उहाँले देशभित्र बसेर नेपाली काँग्रेसमात्रै होइन सबै प्रजातन्त्रवादीलाई सहयोग गरेर प्रजातन्त्रका लागि प्रेरित गर्नुभयो ।
नेपालको राजनीतिक आन्दोलनमा तीन थरी मानिस पाइए । एकथरी देशबाहिर बसेका र सशस्त्र विद्रोह गरेकाहरु । उनीहरुलाई आफूले बन्दुक उठाउने विदेशमा बसेर नेपालमा प्रजातन्त्र ल्याएको भन्ने सोच भयो । अर्का थरी जेलमा बसेकाहरु छन् । उनीहरुले आफूहरुले देश र जनताका लागि जीवन जेलमा बिताएका छौ भन्ने भयो । दुवैथरी तर्क वास्तविक र स्वभाविक पनि छन् । अर्काथरी छन् स्वदेशमै बसेर शान्तिपूणर् रुपमा प्रजातन्त्र बहालीका लागि क्रियाशिल हुने । उनीहरुलाई लागेको थियो हामीले स्वदेशमा बसेर प्रजातन्त्रका लागि कार्य गर्यौ । सूर्यबाबु तेस्रो धारका नेतृत्व गर्नुहुन्थ्यो । उहाँ दक्षिण एसियाको राजनीतिमा गहिरो दख्खल राख्नुहुन्थ्यो । उहाँलाई थाहा थियो । कुन हदसम्म विदेशमा बसेर आन्दोलन गर्न सकिन्छ । २०१७ देखि २०३३ सालसम्म नेपालमा भएका सम्पूणर् विद्यार्थी आन्दोलनलाई सूर्यबाबुले हरतरिकाले समन्वय र सहयोग गर्नुभयो ।
२०१७ सालपछि गिरिजाबाबु पनि जेल पर्नुभयो । उहाँलाई लागेको थियो चाँडै नै रिहा हुनेछु, तर त्यो भएन । उहाँ नख्खु कारागारमा हुनुहन्थ्यो । सूर्यबाबुले एकदिन गिरिजाबाबुलाई भेट्नुभएछ । उहाँ गिरिजाबाबुलाई तँ भन्नुहुन्थ्यो । गिरिजाबाबु जेलमुक्तिका आशा राख्नुहुन्थ्यो । त्यसका लागि उहाँ अनसन पनि बस्नुभयो । सूर्यबाबुले ए गिरिजा तँ अब जेल नबस, बाहिर पनि धेरै काम गर्नु छ भनेर सम्झाउनुभयो । दरबार पनि अनसन तोडाउने पक्षमा थियो । सूर्यबाबुले गिरिजाबाबुको अनसन पनि तोडाउनुभयो र रिहा पनि गराउनुभयो । विराटनगर पुगेर गिरिजाबाबुले एउटा कार्यक्रममा बोल्नुभयो । कसैले सूर्यबाबुको विरोध नगर्नु । उहाँले दुईवटा काम गर्नु छ । मलाई छुटाउनुभयो र अर्को काम गर्न बाँकी छ, बी.पी.लाई छुटाउन छ । कार्यकर्तालाई उहाँले सूर्यबाबुको लाइनमा चल्नसमेत आग्रह गर्नुभयो । यो मैले सुनेको छु । अनि मैले प्रश्न गरेँ हामीले किन सूर्यबाबुको विरोध गर्ने ? गिरिजाबाबु सूर्यबाबुलाई निकै आदर गर्नुहुन्थ्यो । क्रमशः









