
– अर्जुननरसिंह के.सी. –
नेपाली राष्ट्रिय काँग्रेस ः
नेपाली काँग्रेसको स्थापना कसरी र कुन उद्देश्यले भयो ? नेपाल र नेपाली जनताका बीच कार्यरत रहनुपर्ने पार्टी किन विदेशी भूमिमा स्थापित भयो ? र यसको पहिलो नाम किन अखिल भारतीय राष्ट्रिय काँग्रेस भयो ?
नेपाली राष्ट्रिय काँग्रेसको स्थापनाभन्दा अघि राणा शासनको विरुद्ध नेपालमा भएका २३ भन्दा बढी संगठीत र स्थानीय स्तरका विद्रोहहरु उल्लेखनीय छन् । ती प्रायः प्रजातान्त्रिक विचारबाट प्रेरित नभै सत्ता संघर्ष भएपनि तिनका परिणामले राणा शासनको आन्तरिक पतनलाई बल पुर्याउँदै प्रजातान्त्रिक आन्दोलनलाई केही सहजता मिल्यो । यसमा वि.सं. १९०४ मा घटित अलौ पर्व देखि नेपाल प्रजापरिषद्को व्यापक पर्चावाजी १९९७ सालसम्मका घटना र विभिन्न संघ संस्थाको सक्रियता पर्दछन्, जसको यथास्थानमा उल्लेख छ । देशबाहिर भारतको पटनाबाट प्रकाशित हुने अंग्रेजी साप्ताहिक द सर्च लाईट मा वि.सं. २००३ असोज १८ शुक्रबार (४ अक्टुबर , १९४६) मा बीपी कोइरालाले नेपालीहरुलाई सम्बोधन गर्दै एउटा चिठीको रुपमा गरेको आह्वान नेपाली राष्ट्रिय काँग्रेसको स्थापनाको विजरोपण मानिन्छ ।
निणर्ायक राष्ट्रिय राजनीतिक शक्तिको रुपमा एउटा प्रजातन्त्रवादी पार्टी स्थापना गर्ने बीपीको सो पत्रको आह्वानबाट उत्साहजनक प्रतिक्रिया आउन थालेपछि बीपी कोइरालाले भेटघाटलाई तीव्र बनाउनु भयो । त्यसमा पनि नेपालबाट आएका व्यक्तिहरुलाई विशेष महत्वका साथ उहाँले भेटघाट र कुराकानी अगाडि बढाउनु भयो । भारतमा नेपालीहरुको गन्तव्य र जमघट हुने मुख्य केन्द्रमा बनारसको अतिरिक्त पटना, कलकत्ता, दार्जिलिङ्ग, सिलिगुडी, गोरखपुर, लखनौ थिए । यी केन्द्रमा राणाशासनले जासुस र सुराकी तैनाथ गरेको थियो । पार्टी स्थापनाको काम तीव्र गतिले अघि बढ्यो । नेपालको जेलबाट वीरताका साथ फुत्केर भारतमा पहिचान लुकाएर बस्नुभएका गणेशमान सिंह, बनारस हिन्दु विश्वविद्यालय (बीएचयु) का छात्रहरु कृष्णप्रसाद भट्टराई, ईश्वर (लीलानटेश्वर) बराल, विश्वबन्धु थापा, बालचन्द्र शर्मा लगायत डिल्लीरमण रेग्मी, गोपालप्रसाद भट्टराई, नरेन्द्र रेग्मी आदिसँग उहाँले सम्पर्क र समन्वय गर्नुभयो ।
बीएचयु त्यस बेलाको उच्चशिक्षाको उत्कृष्ट गन्तव्य भएकोले राणा परिवारका छोराछोरी र उनीहरुका कृपापात्रको पनि शिक्षा आर्जनको केन्द्र थियो । २००३ साल कार्तिक १५ गते, राणाविरोधी भावनाका नेपाली विद्यार्थीहरु सम्मिलित भएर नेपालमा परिवर्तन तथा प्रजातन्त्रको लागि बनारस (दुग्धविनायक) स्थित नरेन्द्र रेग्मीको घरमा, नेपाली छात्र संघले विद्यार्थीहरुको भेला र छलफलको आयोजना गर्यो । भेलाले उपस्थितमध्ये सबभन्दा अग्रज, चन्द्र शमशेरसँग शासनशैलीमा विचार नमिलेपछि सर्वस्वहरण भएको आप्mनो सम्पत्ति चन्द्र समशेरले आप्mना वफादार चाकरहरुलाई बाँडिदिएकोले भारत निर्वासनमा बस्दैआएका र राणाशासन नढली स्वदेश नफर्किने बाचा गर्नुभएका सुब्बा देवीप्रसाद सापकोटालाई भेलाको अध्यक्षता गराएको थियो ।
क्रमशः









