
– अर्जुननरसिंह के.सी. –
यसले मतान्तरहरुका बीच न्यानोपन, आत्मीयता र संवादको द्वार खोल्न सहयोग गर्यो । एउटा पक्षले अर्को पक्षलाई सुन्ने सद्भावना संस्कृतिको विकास भयो ।
दक्षिण एशियाका बाँग्लादेश, श्रीलंका, पाकिस्तान आदि मुलुकमा पार्टीहरुका बीच संवाद र सरोकारको संस्कार विकसित भएको पाइन्न । पञ्चायत र कम्युनिष्टहरुले शत्रु घोषणा गरिरहेका नेपाली काँग्रेसले नेपालमा हेलमेल र संवादको संस्कृति विकसित गर्नमा बीपी ले मेलमिलाप नीति अन्तर्गत अपनाउनु भएको विचार र व्यवहारले नै प्रारम्भ गरेको हो । मेलमिलापको संस्कृति राष्ट्रियतालाई ध्यान र महत्व दिने सवालमा तत्कालीन परिस्थितिमा अपनाइएको एउटा लोकतान्त्रिक रणनीतिको कदम थियो । तर जहाँ पनि मेलमिलापको सूत्र लगाउन खोज्नु गल्ती हुन्छ । राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अधिष्ठाता नेपाली काँग्रेस नै हो, तर यो दिवसलाई बिरालो बाँधेर श्राद्ध गरेजस्तो कर्मकाण्डी रुपमा मनाउनु त्यति नै प्रत्युत्पादक हुनजान्छ ।
मेलमिलाप कोसँग ?
जसका विरुद्ध हतियार उठाइएको हो, बीपी, गणेशमानजी लगायतका नेताहरु उसैसँग मेलमिलाप गर्ने भनेर आउनु भयो । आज पनि मेलमिलाप नीति सान्दर्भिक छ भनिँदैछ । के मेलमिलाप नीति सान्दर्भिक छ ?
मेलमिलाप नीति कहिल्यै म्याद नसकिने रेडिमेड ओखती होइन । यो सबै रोगको रामवाण पनि होइन । वास्तवमा त्यो बेला पनि यो समाधान नभएर केवल रणनीति नीति थियो । देशभित्रै प्रवेश गरेर शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलन चलाइरहने मध्यान्तरको निर्णय थियो । त्यो बेला राजासँग संघर्ष छैन, पञ्चायतसमक्ष समर्पण हुन्न भन्ने मेलमिलाप नीतिको नारा पनि थियो । नेताहरु स्वदेश फर्किएपछि परिवर्तनको पक्षमा एउटा निर्णायक राजनीतिक लहर आयो । त्यो लहरको परिणति नै २०३६ सालको जनमत संग्रह थियो ।
आज कोसँग मेलमिलाप ? राजनीतिमा परिणाममुखी र जनतामुखी नभै जथाभावी गरिएको मेलमिलाप सही अर्थमा स्वाभिमानहिन वा आत्मसमर्पण हुनपुग्छ । नेपाली काँग्रेस मूल्यमा आधारित राजनीतिमा विश्वास गर्ने पार्टी हो, नाफाको राजनीतिमा होइन । २०६२ सालमा तत्कालीन सात राजनीतिक दल र माओवादीबीच भएको बाह्रबुँदे समझदारीपत्र पनि प्रकारान्तरले एउटा राष्ट्रिय मेलमिलापको कदम थियो । यो कति सार्थक भयो वा निरर्थक, पार्टीको कार्यकर्ता पंक्तिले नै बहसबाट निष्कर्ष बनाउने विषय हो । मेलमिलाप नीतिले काँग्रेसलाई आप्mनो परिवेश, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिप्रेक्ष र यसका प्रभावोत्पादक तत्वको विश्लेषण गरी निष्कर्षमा पुग्ने परिपाटी दिन्छ । २०३३ सालको मेलमिलाप नीति आजको सन्दर्भमा हुबहु सान्दर्भिक हुनसक्दैन । त्यो यथास्थितिमा कुनै वस्तुस्थिति वा मनस्थिति आज छैन । त्यसलाई खारेज वा विरोध गर्नुपर्छ भन्ने होइन तर त्यसबाट प्रेरणा लिएर समसामयिक व्यवहारवादी र समन्वयकारी काम गर्नुपर्छ ।
जनमत संग्रह २०३६ :
पाकिस्तानका अपदस्थ प्रधानमन्त्री ५१ वर्षीय जुल्फिकर अली भुट्टोलाई त्यहाँको सैनिक शासनले ४ जना उच्च व्यक्तिहरुको हत्या गराएको आरोप लगाउँदै २०३४ सालमा पक्राउ गरी जेलमा राखी मुद्दा चलाएर २०३५ चैत २२ गते बुधबार फाँसीको फैसला दियो । क्रमशः









