
– डा. तुलसी भट्टराई/उद्धव उपाध्याय/महेन्द्रप्रकाश सिवाकोटी –
कुनै व्यक्ति मानिसमाझ चिनिएर लोकप्रिय हुन सक्छ । त्यसका व्यक्तिगत अनुयायी धेरै हुनसक्छन् । तर, सङ्गगठनलाई संस्थागत रुप दिने कुरामा सङ्गठनकै केही नियम कानून पनि अपेक्षित हुन्छन् । दुर्भाग्यवश काँग्रेसको इतिहासमा नियम कानूनको भूमिका कमजोर रह्यो । बीपीको निधनपछि काँग्रेसमा सिद्धान्तबोध पनि अन्तन्त धुमिल हुँदै गयो । यी दुवै हुँदा पनि गिरिजाप्रसादले लोकसंग्रहको काममा कुनै कमी राखेनन् । बढीभन्दा बढी मान्छे उनले आफूसित राखे । त्यसको एउटा प्रमाण उनको शवयात्रा हो ।
गिरिजाप्रसाद साँचो अर्थमा राजनीतिक प्राणी थिए । बीपीमा संवेदनशील, अध्ययनशीलता उच्च बौद्धिक क्षमता र गहिरो अन्तरदृष्टि थियो । गिरिजाप्रसादमा गहिरो बौद्धिक क्षमता र अन्तरदृष्टिको उपस्थिति कमजोर थियो । तर उनमा राजनीतिप्रति गहिरो चाख थियो । काम नपाएपछि उनी बेचैन हुन्थे । केही न केही नगरी उनी बस्नै सक्तैनथे । फलस्वरुप २०३६ र २०४६ बीचको १० वर्षमा उनले नेपालको व्यापक भ्रमण दौडाहा गरे । हिँडी नै रहे, हिँड्नु पनि आफैमा एउटा काम हो । त्यस हिँडाइलाई कसरी ठोस राजनीतिक रुप दिने भन्नेमा उनी स्पष्ट थिएनन् । त्यो स्पष्टता दिने काम किसुनजी र गणेशमानजीले गरे । २०४२ सालको सत्याग्रहको परिकल्पना मूलतः किसुनजीको थियो । त्यसमा गणेशमानजीले समर्थन जनाएपछि त्यो निर्णयमा पुग्यो । त्यतिखेरका वक्तव्य र गतिविधिहरु हेर्दा गिरिजाप्रसाद सत्याग्रहको आन्दोलनप्रति प्रसन्न थिएनन् भन्ने देखिन्छ । तर, उनीसँग तत्काल विकल्प थिएन । पछि उनले विकल्प दिए । त्यसलाई विकल्पको खोजी भनेर नेपाली काँग्रेसको इतिहासमा सम्झना गरिन्छ ।
यस क्रममा उनले राजा वीरेन्द्रलाई भेटे । यही भेटलाई लिएर अलिकति उनको उपहास पनि भयो । तर, खासमा यो उपहास हुनुपर्ने विषय थिएन । कुनै संघर्षको बाटो देखिएको थिएन । सत्याग्रह असफलभइसकेको थियो । त्यस अवस्थामा राजा वीरेन्द्रसँगै भेटेर भए पनि मुलुकमा काँग्रेसलाई अगाडि बढाउन बाटो बनाउँ भन्दा कुनै आपत्तिको कुरा थिएन । क्रमशm









