
– डा. तुलसी भट्टराई/उद्धव उपाध्याय/महेन्द्रप्रकाश सिवाकोटी –
गणेशमानजीले त एकचोटी मलाई भन्नुभएको छ, यो गिरिजालाई पार्टीबाट निकाल्दिऊँ ।
किसुनजीले दुईचोटी निर्वाचन हार्नुमा उहाँको हात छ । मैले त गिरिजाबाबुलाई तपाईले यस्तो गर्न नहुने भनेर भनेकै हुँ । किसुनजी काठमाडौंबाट लड्दाको गल्ती उहाँले सच्याउनुभयो, विरगञ्जबाट उठाएर ।
तर त्यसपछि के भयो ? गिरिजाबाबुले कहिल्यै प्रधानमन्त्री हुँदा अर्काको कुरा सुन्नभएन । आप्mनै ढिपी गर्नुभयो । किसुनजी प्रधानमन्त्री भएपछि भने उहाँ आफ्नै कुरा मनाउन खोज्नुहुन्थ्यो । नेपाली काँग्रेसको सभापति भएकाले मैले भनेको प्रधानमन्त्रीले मान्नैपर्छ भन्नुहुन्थ्यो । उहाँ आफै प्रधानमन्त्री हुँदा भने किसुनजीले भनेको कहिल्यै सुन्नुभएन ।
व्यक्तिगत रुपमा जो उहाँको निकट रह्यो, भनेको मान्यो, उसलाई खुबै मन पराउने । सहमतिमा नआउनेहरुलाई देखिनसहने । कुनै समय उहाँको निकट रहेकाहरु पछि टाढिँदै गएको कुरा त्यही भएर हो । कुरै नसुनेपछि के गर्नु ?
उहाँको यस्तै रवैयाले पछिसम्म हाम्रो मतभेद चलिरहयो । २०१५ सालको निर्वाचनमा काँग्रेसले बहुमत ल्यायो । बीपीलाई प्रधानमन्त्री बनाउन महेन्द्रले चाहेका थिएनन् । उनी सुवर्णशमशेरलाई बनाउन चाहन्थे ।
त्यतिखेर सुशीला भाउजु बीपी प्रधानमन्त्री नहोस् भन्ने पक्षमा हुनुहुन्थ्यो । उहाँ एकदमै त्यागी स्वभावकी महिला । श्रीमान् प्रधानमन्त्री होस् र आफू प्रधानमन्त्रीको पत्नी हुन पाऊँ भन्ने स्वार्थ उहाँमा थिएन ।
एकदिन बीपीले मलाई भन्नुभयो, सुशीला मलाई प्रधानमन्त्री नहुनु भन्छे, तँ भाउजुसँग कुरा गर ।
मैले भाउजुसँग कुरा गरेँ । किन हुनुपर्यो त प्रधानमन्त्री ? उहाँ कड्किनुभयो, गान्धीजी प्रधानमन्त्री भए ? जयप्रकाश भए ? क्रान्ति भयो , चुनाव भयो, अब सुवर्णजीलाई छोड्दिनु । दुःख परेका बेला सुवर्णजी भन्ने, अहिले पद खाने बेला आएपछि बीपी नै चाहिने । अर्काको भाग त्यसै खान हुन्न नी । अब उहाँले छोड्ने बेला आयो ।









