
– अर्जुननरसिंह के.सी. –
कार्यसमितिका मुख्य सदस्यहरुमा सहिदद्वय शिवचन्द्र मिश्र (२०१९ असोज २४ गते महोत्तरीमा भएको सशस्त्र आन्दोलनमा) तथा दुर्गानन्द झा (काठमाडौमा फाँसीको सजाय दिइएका), अरविन्द कुमार ठाकुर, महेश्वर प्रसाद सिंह, शंकर घिमिरे, आत्मराम ओझा, केदारनाथ सिंह, गंगाधर झा, नागेन्द्र झा, मोहनसिंह थापा, हरिसुन्दर मिश्र, दिग्विजय मल्ल, यदुनन्दन झा, चन्द्रेश्वर राय, सीताराम साह, पूण्यदेव ठाकुर, मिथिलेश शर्मा आदि हुनुहुन्थ्यो ।
प्रजातान्त्रिक समाजवादी युवा लीग
युवाशक्तिलाई लोकतान्त्रिक आन्दोलनमा सक्रिय र सशक्त बनाउन देशभित्र र बाहिर छरिएर रहेका प्रजातान्त्रिक समाजवादमा आस्थावान युवा तथा विद्यार्थीलाई संगठित गर्ने उद्देश्यले प्रजातान्त्रिक समाजवादी युवा लीग (डिएसवाइएल) नामको एक वृहत संगठनको आवश्यकता महसुस गरी २०२४ साल फागुनमा यसको स्थापना प्रयास थालियो ।
काठमाडौ र विराटनगरमा रहेका युवा तथा विद्यार्थीहरु करिब १०/१२ जनाको संख्यामा प्रजातान्त्रिक समाजवादी युवा लगीको पहिलो सम्मेलन तयारी समिति गठनको लागि विराटनगरस्थित होटल नीलममा गर्न लागिएको बैठक अञ्चलाधीश कार्यालयको कडाईका साथ पिछा भएपछि होटल पछाडिको एउटा गोदामघरमा २०२३ साल फागुन अन्तिमतिर लेखकसहित शैलजा आचार्य, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, दमननाथ ढुङ्गाना, केदारनाथ श्रेष्ठ, प्रदीप गिरि, दुण्डीराज शास्त्री र विराटनगरका केही प्रजातन्त्रवादी युवाहरु बैठकमा जुट्नुभयो । सो बैठकले लोकतान्त्रिक आन्दोलनलाई सुसंगठित र गतिशील बनाउन लीग रुपको एउटा प्रजातान्त्रिक संगठन स्थापनाको लागि निकट भविष्यमै राष्ट्रिय सम्मेलन गर्ने निर्णय लियो ।
तदनुसार २०२४ साल साउनमा, बनारसको तेलियावागस्थित पटेल धर्माशालामा नेपालका विभिन्न स्थानबाट प्रजातान्त्रिक समाजवादमा आस्था राख्ने विद्यार्थी नेतासहित युवाहरु र भारतका विभिन्न स्थानमा अध्ययनरत विद्यार्थीहरु सम्मिलित करिब १५० को संख्याको सहभागितामा प्रजातान्त्रिक समाजवादी युवा लिगको स्थापना भयो । यो स्थापना सम्मेलनमा मार्शल जुलुम शाक्य, नवीनशाक्य जंग शाह, राजेश्वर आचार्य, निमकान्त दाहाल, अशोक कोइराला, दुर्गा सुवेदी, जयहरि ढुङ्गाना, वीरेन्द्रभक्त श्रेष्ठ, हरेन्द्रबहादुर श्रेष्ठ, स्व. शिवबहादुर खड्का, अर्जुननरसि.ह केसी, रामशरण महत, चिरञ्जीवी वाग्ले, आनन्द श्रेष्ठ, विनोद अर्याल, हिरादत्त भट्ट, स्व. अर्जुन खड्का, भूपति ढकाल, विजयराज भट्टराई, स्व. लक्ष्मणमोहन पालिखे, राजेन्द्र बजगाई, मोहनसिंह थापा, केशव रेग्मी, दुर्गाकेशर खनाल, रामणि ज्ञवाली, नारायणप्रसाद भट्टराई, मुक्ति शर्मा, पुतला शर्मा, स्व. छविकुमार शर्मा, अर्जुन कठायत, अम्बिका उपाध्याय, बासुराम नेउपाने, कालिका गुप्ता, घनश्याम उप्रेती लगायतका व्यक्तिहरु सम्मेलनमा सहभागी हुनुभएको थियो ।
उक्त सम्मेलनको क्रममा कार्यसमितिको अध्यक्षको लागि भएको निर्वाचनमा शैलजा आचार्य र ढुण्डिराज शास्त्रीको प्रतिस्पर्धामा आचार्य निर्वाचित हुनुभयो । लिगको कार्यसमितिमा प्रदीप गिरि उपसभापति, रामचन्द्र पौडेल महामन्त्री र केदारनाथ श्रेष्ठ कोषाध्यक्ष हुनुभयो । क्रमशः









