
– अर्जुननरसिंह के.सी. –
राणा शाहीको अन्त टाढा छैन । देश र विदेशका परिस्थिति राणाशाहीलाई मिच्न लागिरहेका छन् । राणाशासन भित्रभित्रै मक्किइसकेको छ । पछिल्लो महायुद्धपछि एशियामा स्वतन्त्रताको भावनाको बाढी आएको छ । हिन्दुस्थान सयकडौ वर्षको विदेशी दासतादेखि स्वतन्त्र भयो र यसको असर नेपालमा पनि निकै परेको छ । अंग्रेजहरुको जस्तो शक्तिशाली शासन यदि भारतबाट निर्मूल भएर जान सक्तछ भने नेपाली राणाशाहीको के हविगत । नेपाली जनताले यो कुरा बुझिसकेको छ । पछिल्लो महायुद्धपछि नेपालमा पनि जन आन्दोलन भए । विराटनगर–मजदुर–हडताल, त्यसपछि १९४७ मा नेपाली काँग्रेसले चलाएको जनआन्दोलन र त्यसपछि पनि अनेक साना–ठूला प्रदर्शनद्वारा जनताले आफ्नो संगठित बल अनुभव गर्न लागेको छ । यी जन संघर्षले जनतामा एकताको आचार लिएर संठगित भई वर्तमान एकतन्त्रीय राणा सरकारको ठाउँमा आफूले राजेका आफ्ना मानिसले चलाउने र आफ्नो हित गर्ने सरकार स्थापित गर्ने भावना आएको छ । जनताको मनबाट राणा सरकारको आजसम्मको आतंक हराईसकेको छ । अब केवल यही आवश्यक छ कि जनताले आफ्नो राष्ट्रिय संस्थाको मातहत संठगित भई भित्रबाट एकदम खोक्रो भइसकेको राणाशाहीलाई एक अन्तिम बलियो धक्का अझै दिएर त्यसलाई जरैदेखि उखेलेर फ्याँकोस् । नेपाली काँग्रेस यही आवश्यकताको पूर्ति गर्दैछ । यसले नेपालका सम्पूर्ण जनताको गठ मिलाई आखिरी आन्दोलन गरेर राणाशाहीको मनपरि जहानियाँ शासनलाई एकै पटक घचेढेर हुत्याउने निश्चय गरेको छ ।
नेपाली काँग्रेसको ध्येय स्पष्ट छ । यो महाराजाधिराजको वैधानिक नायकत्वमा जनताको उत्तरदायी शासन कायम गर्नेछ । निरङ्कुश राणाशाहीले अरुसरह महाराजाधिराजलाई पनि व्यक्तिगत स्वतन्त्रतादेखि बन्चित पारेको छ । हामी उहाँलाई अहिलेको बन्दीतुल्य अवस्थादेखि मुक्त गरेर राज्यको प्रधान पदमा राख्न चाहन्छौ । तर यसो गर्दा पनि हामी उहाँलाई एक वैधानिक शासकभन्दा बढी अधिकार दिन चाहन्छौ । यसो हुनाले महाराजाधिराजलाई पछि स्वेच्छाचारि र निरङ्कुश हुने बाटो रहनेछैन । जनताले रोजेका मानिसहरुले तयार पारेको विधान अनुसार उहाँको नाममा सरकार चल्नेछ । सम्पूर्ण शासनको खटन वास्तवमा जनताले रोजेर पठाएका प्रतिनिधिहरुबाट शासन चलाउनको लागि मन्त्रि मण्डल बनाएर त्यसैको खटनअनुसार राज्य गर्न पर्नेछ । हामी स्वेच्छाचारी राणा शासकहरुको स्थानमा स्वेच्छाचारी महाराजाधिराजको शासन पनि चाहन्नौ । हाम्रो मागको मूल नै उत्तरदायी शासन हो । जनताप्रति जवाफदेही हुने सरकारको शासन नै उत्तरदायी शासन हो । जनताप्रति जवाफदेही हुने सरकारको शासन नै उत्तरदायी शासन भनिन्छ । यसको तात्पर्य यो हो कि सरकारले आफूले गरेको भलो कुभलोको लेखा जोखा जनतालाई बुझाउन पर्नेछ र रैतीले यसको काम मन नपराउनासाथ उसले तुरुन्त खारिज हुनुपर्ने छ । भनाइको अर्थ यो हो कि उत्तरदायी शासन भएको खण्डमा शासकले कुनै प्रकार पनि मनपरि गर्न पाउन्न । उसले जनताको सल्लाहबमोजिम हिँडन पर्दछ । जनता आफ्नो राय वा सल्लाह अनुसार आफूले रोजेर पठाएका प्रतिनिधिमार्फत सरकारछेउ पुर्याउन पूर्ण स्वतन्त्र हुनेछ र सरकारलाई त्यैमुताविक हिड्न कर लाग्नेछ । क्रमशबः









