
मित्रसेन दाहाल
नेपालमा शाहवंशको इतिहास यसै दिनदेखि सकिएको हो तर विभिन्न कारणले ज्ञानेन्द्रसम्म तन्किएर आयो । अझै भन्ने हो भने राजनैतिक नेताहरुले त्यसलाई तन्काउन मद्दत गरे ।
विश्वमा राजतन्त्र अन्त्य हुँदा राजाहरु काटिने, मारिने र शरणार्थी भई छिमेकी मुलुकमा गएको इतिहास हामीले देखेका छौ । तर नेपालमा भने रक्तरञ्जित राजतन्त्रको अन्त्य रक्तपातविहीन भएको छ । ज्ञानेन्द्रले बुद्धि पुर्याएका भए शाहवंशको इतिहास अरु बढ्ने थियो । ज्ञानेन्द्र नैतिक रुपमा बलिया भएका भए नेपालमा यति सजिलै राजतन्त्रको अन्त्य हुने थिएन । ज्ञानेन्द्रले गल्तीमाथि गल्ती गर्दै गए र दलहरु सशक्त रुपमा आए । ज्ञानेन्द्रले राज्यमा टिकिरहने कुनै पनि नैतिक, राजनैतिक, सामाजिक, आर्थिक आधार भेटाएनन् तसर्थ राजा नारायणहिटी सजिलै छोडेर सामान्य नागरिक होइन, सरकारी पाहुना हुन तयार भए । ज्ञानेन्द्रलाई प्रहरी, सेना अनि कुनै एउटा ठूलो राजनीतिक दलले साथ दिएको भए उनले ठूलै हलचल ल्याउन खोज्ने थिए होलान् तर त्यसो भएन । राजासँगै सती जान कसैले चाहेनन् ।
नेपालमा गणतन्त्रको जग २००७ सालमा नै हालिएको थियो । २००७ साल फागुन ४ गते गणतान्त्रिक संविधान निर्माण गर्ने भनेर राजा त्रिभुवन राणाहरुबीच सम्झौता भएको थियो । राजाले जालझेल गरी त्यस बेलाका दलहरुलाई संसदीय निर्वाचनमा चित्त बुझाउन सफल भए । २०४२ सालमा नेपाली काँग्रेसले शान्तिपूणर् रुपमा गरेको सत्याग्रहलाई बिथोल्दै गणतन्त्रको माग राखी रामराजाप्रसाद सिंहले सशस्त्र आन्दोलनको घोषणा गरी सिंहदरबार लगायत विभिन्न ठाउँमा बम विस्फोट गराएका थिए । ठीक त्यसको दस वर्षपछि माओवादीले गणतन्त्रसहितको माग राखी २०५२ साल फागुन १ गतेबाट सशस्त्र संघर्ष सुरु गरे ।
२०५८ साल जेठ १९ गते राजदरबार हत्याकाण्ड भएपछि राजतन्त्रको जग नराम्ररी हल्लियो । क्रमशः









